धरान: २६ औं बुढासुब्बा गोल्डकपमा इतिहास रच्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाण्डौं च्याम्पियन बनेको छ । 

शनिबार धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा उपाधिका दाबेदार चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइज च्याम्पियन बनेको हो । बुढासुब्बाको फाइनलमा चर्च ब्वाइजको लगातार दोस्रो हार हो भने पहिलो सहभागितामै प्लानिङ ब्वाइजले उपाधि जितेर इतिहास बनाएको छ । प्लानिङ ब्वाइजको जितसँगै बुढासुब्बा गोल्डकपले नयाँ विजेता पनि पाएको छ । 

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफको १८ औं मिनेटमा कप्तान प्रतापसिंह राईले निर्णायक गोल गरेका थिए । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै होण्डाको डियो स्कुटर पुरस्कार पाएका छन् । 

budha subba 1

च्याम्पियन प्लानिङ ब्वाइजले उपाधि ट्रफीसँगै नगद १० लाख रुपैया हात पारेको छ भने उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयामा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच प्लानिङ ब्वाइजका पुजन थापा घोषित हुदै नगद १० हजार हात पारे । 

यस्तै, उत्कृष्ट गोलकिपर प्लानिङ ब्वाइजका योगेश धिमाल, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अबयोमी फुकन्ले, उत्कृष्ट प्रशिक्षक प्लानिङ ब्वाइजका सञ्जित सिंह र उत्कृष्ट डिफेन्डर प्लानिङ ब्वाइजका निङ्मा घिसिङ घोषित हुदै जनही नगद २५ हजार हात पारे । 

olanning boys budhasubba chmpion

प्रतियोगिता अवधिभर २/२ गोल गरेका झापाका एरोन थापा, राजेश दाहाल र प्लानिङ ब्वाइजका प्रताप सिंह राईले जनही १२ हजारको दरले नगद पुरस्कार बाँडे । यस्तै, एघार हजार राशीको पत्रकारिता पुरस्कार रश्मी प्रधानले पाइन् । विजेता, उपविजेता टिमका खेलाडीहरुलाई आयोजक धरान फुटबल संघका अध्यक्ष प्रताप तामाङ, प्रमुख अतिथि एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, एन्फा महासचिव किरण राई, कोशी प्रदेश सांसदद्धय रमेश बस्नेत, विजयकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए । 

भिडियो: