धरान: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार सुर्यबहादुर भट्टराई (मनोज) ले हर्क साम्पाङको अराजकतालाई परास्त गर्न र सुनसरी क्षेत्र नं १ को विकास र समृद्धिको लागि तारामा भोट हाल्नुपर्ने बताएका छन् । 

शुक्रबार विभिन्न राजनीतिक दल छोडेर पार्टी प्रवेश गरेका युवाहरुलाई स्वागत कार्यक्रममा सम्बोधन गर्दे उम्मेद्वार भट्टराईले यस्तो धारणा राखेका हुन् । उनले विकास, समृद्धि र एकता चाहनेहरुले भने जुनसुकै पार्टीका भएपनि प्रत्यक्षतर्फ तारा चुनाव चिह्नमा भोट दिन अपिल पनि गरे । 

‘कांग्रेस, एमाले, रास्वपा, राप्रपाको जुनसुकै पार्टीको होस्, समानुपातिकमा एक भोट आफ्नो पार्टीलाई हाल्नुस्, तर प्रत्यक्षमा तारामा भोट हाल्नुस्, यो निक्कै महत्वपुर्ण कुरा हो,’ उनले भने,‘अराजकतालाई परास्त गर्नका निम्त, एकता र सद्भाव कायम गर्नको निम्ति तारामा भोट हाल्नुपर्छ ।’ उनले धरानमा अराजकता नै चाहिरहनेहरुले र सुनसरी १ को विकास, समृद्धि नचाहनेहरुले भने खुलारुपमा हर्क साम्पाङलाई भोट माग्दा हुने पनि बताए । 

आसन्न निर्वाचन सुनसरी क्षेत्र नं १ मा सत्य र असत्य बीच, न्याय र अन्यायबीचको भएको पनि भट्टराईको धारणा थियो । ‘यो चुनाव दुई ध्रुवको प्रतिस्पर्धा हो । एउटाको नेतृत्व नेकपाको उम्मेद्वारकोरुपमा मैले गरेको छँु, जसले न्याय, सत्य, विकास र अग्रगमनको नेतृत्व गरेको छ,’ उनले भने, ‘अर्को पक्षको नेतृत्व हर्क साम्पाङले गरेको छ, जहाँ अराजकता, अपारदर्शिता, विभाजन र फुटबाहेक केही पनि छैन । त्यही भएर धरानमा अराजकता छ आज ।’

उनले धर्मको निहुमा चर्च र मन्दिरको निहुँमा विगतमा धरान अशान्त हुनखोजेको स्मरण पनि गरे । ‘मिलेर बसेको छिमेकीबीच कहिलेकाही जातीय सन्तुलनको हिसाबले विभाजित हुनखोज्छ, अहिले भुपू लाहुरे समुदाय उचालेर प्रयोग गरेको देखिन्छ,’ उम्मेद्वार भट्टराईले भने,‘हामीले मामा, काका बडा भनेर मानेको धरानको सम्पत्ति, धरानको विकास र समाजसेवामा लामो समय योगदान गरेकाहरुलाई पनि प्रयोग गरेको देखिन्छ ।’ 

उम्मेद्वार भट्टराईले भोट जातको आधारमा नभै राजनीतिक दल र उम्मेद्वारको विचार, एजेण्डा र गुणको आधारमा हाल्न पनि आग्रह गरे । ‘म स्वभावले राई हुँ नि, किनभने चण्डी मै राम्रो नाच्छु, उभौली मै राम्रो मनाउँछु, सँुगुरको मासु मै राम्रो खान्छु । चासोक मै राम्रो मनाउछु त । ल्होसार मै राम्रो मनाउँछु,’ उनले भने, मैले भन्न खोजेको के हो भने सबै जातीप्रति मेरो सद्भाव छ, सबै धर्मप्रति मेरो सद्भाव छ । सबैको धर्म, सँस्कृति परम्पराको रक्षा गर्छु, संवद्र्धन गर्छु भनेको हुँ । त्यसो गर्नलाई म अरु जातिकै भइरहनुपर्छ र ?’

विभिन्न राजनैतिक दल छोडेर २५ युवा नेकपा प्रवेश

manoj bhatrai

धरानमा क्रियाशील विभिन्न राजनैतिक दल परित्याग गरी २५ जना युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।शुक्रबार धरान–८ स्थित लाङ्घाली सामुदायिक बनमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किरण राईले उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा मिना लिम्बु,अञ्जना राई,मनु राई,फुला लिम्बु,सरोज राई,बिष्णु लिम्बु,रोजा लोकान्द्री,सुपेन्द्र लिम्बु,सुमन लिम्बु,तेज लिम्बु,दीपेन लिम्बु,हेमन मगर,भूपु लिम्बु,सुसिला नागार्की,पुष्प लिम्बु,सागर मगर,रोशन लिम्बु,अभिषेक झापा,सुमन राजधामी,प्रवेश राई,राजा लिम्बु,सरग लिम्बु,नन्दु राई,सुमन राई,उदय राई नेकपा प्रवेश  गरेका हुन ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राईले युवाहरू परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्दै समाजवाद उन्मुख राजनीतिक धारामा युवाको सक्रिय सहभागिताले मात्रै देशमा वास्तविक परिवर्तन सम्भव हुने बताए । उनले वर्तमान राजनीतिक अवस्थाबाट निराश बनेका युवाहरू वैकल्पिक राजनीतिक धारमा आकर्षित हुनु सकारात्मक संकेत भएको समेत बताए।

पार्टी प्रवेश गर्ने युवाहरू विभिन्न दल र पृष्ठभूमिबाट आएका रहेको आयोजक समितिले जनाएको छ। उनीहरूले भ्रष्टाचारविरोधी राजनीति, सुशासन, सामाजिक न्याय र श्रमिक–किसानमुखी नीतिका कारण नेकपामा आकर्षित भएको प्रतिक्रिया दिएका छन्।कार्यक्रममा नेकपाका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भिडियो: