धरान: जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष एवं पुर्वमन्त्री अशोककुमार राईले धरान–लेउती सुरुङ मार्ग आवश्यक भएपनि त्यहाँबाट तमोरको पानी ल्याउन नसकिने बताएका छन् । 

सुनसरी क्षेत्र नं १ का उम्मेद्वार नगेन्द्र बहादुर लिम्बूको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै निवर्तमान सांसदसमेत रहेका राईले यस्तो बताएका हुन् । सुरुङमार्गबाट पानी ल्याउन सम्भव नहुने प्राविधिक निष्कर्ष भएर नै विकल्पमा सप्तकोशीको प्राजेक्ट अघि बढेको पुर्वसांसद राईको भनाई थियो । सुरुङ मार्ग बनाएर तमोरको पानी ल्याउने योजनालाई अहिले पनि अधिकांश उम्मेद्वारहरुले चुनावी एजेण्डामा समावेश गरेका छन् । 

राई २०७९ को निर्वाचनमा एमालेको समर्थनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका थिए । उनी शिक्षामन्त्रीसमेत भएका थिए । ‘प्राविधिक कुरा हाम्रो कल्पना जस्तो नहुदो रहेछ, वस्तुगत यथार्थमा उभिदो रहेछ । सुरुङमार्गमा पाइप राखेर तमोरको पानी ल्याउने परिकल्पना थियो, तर सम्भव रहेनछ,’ राईले भने,‘सुरुङ मार्गलाई नै १२ अर्ब बढी बजेट चाहिने । तमोरको पानीको लेभल धरानभन्दा मुनि छ । पानीको लेभल माथि उठाउन बाँध बाँध्नुपर्यो । तमोरमा बाँध बाध्नु सुरुङ मार्गभन्दा धेरै खर्चिलो र कोशीबाट पानी ल्याउने कुरा भन्दा दशौं गुण खर्चिलो हुने रहेछ । त्यसकारण यो तरिकामा जानसकिन्न भन्ने प्राविधिज्ञहरुको निष्कर्ष भएको हुनाले सप्तकोशीबाट पानी ल्याउने विकल्पमा जानुपर्ने भयो ।’

निवर्तमान सांसद राईले सप्तकोशीमा बोरिङ गरेर पानी निकाल्ने र लिफ्ट गरेर सुर्यकुण्डमा चढाएर त्यहाँबाट ग्राभेटी फ्लो (गुरुत्वकर्षण) ले नै धरान १४ विजयपुरसम्मलाई पानी दिन सकिने निष्कर्ष निकालिएको पनि बताए । साथै, धरानको वडा २० लाई पनि पानी वितरण हुने भएकोले उक्त विकल्पमा अघि बढेको पनि उनले बताएका थिए । तर, हाल सर्वे भइसकेको सप्तकोशी योजनामा भने सुर्यकुण्डमा पानी चढाउने र धरान–चतरा सडकमार्ग हुदै पानी धरान ल्याउने गरि डिजाइन भएको छ । 

सप्तकोशीमा बोरिङ गरेर ल्याउनुको साटो धरानकै दक्षिणी चारकोसे जंगलमा डिप बोरिङ गर्नुपर्ने बिषयमा पनि राईले भने,‘कतिपयले जंगलबाट डिप बोरिङ गरेर पानी तान्न सकिन्थ्यो, किन सप्तकोशी गएको पनि भनिरहेका छन् । तर, चारकोसे जंगलमा पनि पर्याप्त पानी आउन सक्ने रहेनछ, त्यो पनि सर्वे भएको र रिपोर्ट हेरिसकेपछि नै सप्तकोशी नै उपयुक्त हुने भन्ने रहेछ ।’ 

'पानी नआएपनि सुरुङमार्ग आवश्यक '

jasapa ashok k rai

तमोरको पानी ल्याउन सम्भव नभएपनि सुरुङमार्ग आवश्यक भएको राईले बताए । उनका अनुसार ४.२ किलोमिटर सुरुङमार्गको लागत १२ अर्ब भन्दा बढीको रहेको छ । आगामी आर्थिक बर्ष २०८३/०८४ को बजेटमा बहुबर्षिय योजनामा बजेट छुट्याउने गरि तयारी भइसकेको तर वर्तमान राजनीतिक परिस्थितिले अलमलिएको पनि उनले बताए । 

‘भेडेटार–लेउती सडक खण्ड दुर्घटनाग्रस्त क्षेत्र पनि हो, पहिरोले धेरै क्षति पनि भइरहन्छ, बाटो अवरुद्ध हुन्छ, त्यो बाट जोगिनलाई सुरुङ मार्ग चाहिन्छ,’ उनले भने,‘धरान सिरकट्टा हुदैछ । तमोर करिडोर सडक त्रिवेणी हुदै बराहक्षेत्र भएर जादैछ । ताप्लेजुङ, तेह्रथुम, धनकुटाको एउटा हिस्सा, पाँचथर निवासीहरु काठमणडौं जानपर्दा त्यताबाट जान सुविधा भए धरान नआइ जान्छन्, र सिरकट्टा हुन्छ ।’ 

धरानको व्यापार, कारोबार, व्यवसायीहरु र धराने जनताको हितमा सुरुङ मार्ग लाइफलाइन भएको पनि राईले बताए । ‘धरानलाई पर्यटन हब बनाउने हो भने पनि महत्वपुर्ण छ, सुरुङ मार्गले समय धेरै छोटो गरिदिन्छ,’ उनले भने । 

'सप्तकोशीको लागि २० प्रतिशत प्रदेश सरकारले दिन्छ '

सप्तकोशीबाट पानी धरान ल्याउने परियोजना संघीय सरकारले अघि बढाउन चाहेपनि तत्कालिन स्थानीय सरकार प्रमुख हर्कराज राईको कारण अघि नबढेको पनि निवर्तमान सांसद राईले बताए । धरानको खानेपानी समस्या हल गर्नकै लागि आफ्नो पार्टीले सरकारमा जादा खानेपानी मन्त्रालय रोजेको जिकिर गर्दै उनले वैदेशिक ऋणबाट परियोजना अघि नबढाउने वहानमा तत्कालिन नगर प्रमुख राईले बजेट चाहिदैन भनेर पत्र पठाएकै कारण योजना अवरुद्ध भएको बताए । 

धरान उपमहानगरले लगानी गर्नुपर्ने कुल प्रोजेक्टको २० प्रतिशत व्यहोर्न नसक्ने अवस्था देखिएकोले आफुले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीसँग पनि भेट गरेर लगानी जुटाउन पहल गरेको खुलाए । ‘म, यहाँका २ जना प्रदेश सांसदसहित गएर मुख्यमन्त्रीलाई आग्रह गर्यौं, उहाँले नगरले व्यहोर्नुपर्ने २० प्रतिशत हिस्सा प्रदेश सरकारले व्यहोर्छ भनिसक्नुभएको थियो,’ पुर्वमन्त्रीसमेत रहेका राईले भने,‘मलाई आशा छ, उपमहानगरले आफ्नो निर्णयमा पुर्नविचार गर्छ, र यो प्रोजेक्ट फेरि अघि बढ्छ । हाम्रो उम्मेद्वारले जितेमा अधुरो योजनाहरु पुरा गर्नुहुनेछ ।’

भिडियो:

भिडियो: