धरान: धरान उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष धनबहादुर राईले पदबाट राजिनामा दिएका छन् ।
अध्यक्ष राईले आज शुक्रबार धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघालाई राजिनामा पत्र बुझाएका हुन् । स्वेच्छाले राजिनामा दिएको उल्लेख गरेका राई शुक्रबार नै श्रम सँस्कृति पार्टीमा औपचारिकरुपमा प्रवेश गरेका छन् । धरानको भानुचोकमा आयोजित उक्त पार्टीको वृहत आमसभामा केन्द्रीय अध्यक्ष एवं निवर्तमान नगर प्रमुख हर्क साम्पाङ राईले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट वडा ४ को अध्यक्षमा निवार्चित भएका थिए । २०७४ को निर्वाचनमा पनि उनी वडा सदस्यमा निवार्चित भएका थिए । तत्कालिन नगर प्रमुख साम्पाङको श्रमदान अभियानमा निरन्तर साथ दिदै सहभागी हुने उनी एक्ला वडाअध्यक्ष हुन् । पार्टी (एमाले)को निर्देशन विपरीत श्रमदानमा नियमितरुपमा गएपछि उनलाई कारबाहीको लागि जिल्ला कमिटीमा सिफारिशसमेत गरेको थियो ।
राजिनामा पश्चात उनले जनताको काम गर्ने एक मात्र पार्टी श्रम सँस्कृति भएको र नेतामा हर्क साम्पाङ मात्र भएकोले उक्त पार्टीलाई रोजेको बताए । उनले वडाबासीले ५ बर्षको लागि निवार्चित गराएको भएपनि बिशेष परिस्थितिले राजिनामा दिनुपरेको भन्दै मतदाताहरुसँग माफी समेत मागे । आमसभामा उनीसँगै पुर्वजनप्रतिनिधि (वडा सदस्य) शिव वान्तवा राई र अन्य विभिन्न पार्टीहरुबाट पनि श्रम सँस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
भिडियो:
भिडियो:







