धरान: नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र गोले तामाङले सुनसरी क्षेत्र नं १ का मतदाताहरुले चटके, जादुगर जस्ता इमोशनल ब्लाकमेल गर्नेलाई फागुन २१ को निर्वाचनमा हराउने बताएका छन् । 

कांग्रेसको सोमबार धरानमा आयोजित आमसभालाई सम्बोधन गर्दै तामाङले घरदैलोको क्रममा मतदाताहरुसँगको भेटघाटबाट आफुले यस्तो बुझेको पनि खुलाए । जनतामा समाजमा द्धेष फैलाउने र जनता जनताबीचमा घृष्णा फैलाउने व्यक्तिको चरित्र उदांगो पनि भइसकेको तामाङको जिकिर थियो । उम्मेद्वाहरुको छवि, पृष्ठभुमी, योग्यता र क्षमताको पनि जनताले लेखाजोखा गरिरहेको उनको भनाई थियो । 

‘कुनै चटके, कुनै जादुगरलाई होइन, समाजमा द्धेष फैलाउने, जनता जनताबीचमा घृणा फैलाउनेलाई होइन, देश सम्हाल्ने निष्ठावान, असल, इमान्दार र कर्मठ नेतृत्वलाई चयन गर्नुपर्छ भन्ने जनताको मनसाय मैले बुझेको छुँ,’ तामाङले भने,‘सामाजिक सञ्जालमा जतिसुकै इमोशनल ब्लाकमेल गरेतापनि जनताको मन इमोशनल ब्लाकमेलले फर्कने मैले पाइन ।’ जनताप्रति जवाफदेही, उत्तरदायी नेतृत्व रुचाएको पनि आफुले पाएको उनले बताए । 

sujendra1

नयाँ भन्नेहरुले जनतामा उत्तेजना र विरोधको राजनीति गरेर अराजकता मच्चाइरहेको पनि तामाङले बताए । सुनसरी क्षेत्र नं १ मा कांग्रेसले अहिलेसम्म नजितेको भएपनि जनताको पक्षमा धेरै कामहरु गरिरहेको र गलत काम केही पनि नगरेको उनले दाबी गरे । ‘जितेर जानेहरुले के गर्यो ? मतदाताहरुले प्रश्न गर्नुपर्नेछ, र त्यो सोचेर मात्र मतदात गर्नुहोला,’ उनले भने । 

उनले आफ्नो, वर्तमान सभापति गगन थापा र पुर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर सुशासनको यात्रा शुरुवात गर्ने पनि घोषणा गरे । ‘मेरो पनि सम्पत्ति छानबिन होस्, एकरुपैया पनि तलमाथि गरेको भेटिए सन्यास लिन्छु,’ उनले भने,‘म पनि ब्रिटिश लाहुरेको सन्तान हुँ, खान लाउन समस्या छैन । मेरो आफन्तजन युकेतिर नै छन्, कमाउन नै चाहेको भए म पनि युकेतिर नै हुन्थे ।’

sujendra2

तामाङले धरान र सुनसरी क्षेत्र नं १ सधै पछाडि परिरहनुमा जितेर गएकाहरुको पहुँच सिंहदरबारसम्म नभएको दाबी गर्दै तामाङ त्यही कारणले ठुला र गौरवको आयोजनाहरु नआएको पनि बताए । आइयुडिपी प्राजेक्ट पुर्णरुपमा सफल नभएपनि अहिले खानेपानीको भुमिगत स्रोतको माध्यम बनेको र उक्त प्रोजेक्ट कांग्रेसकै पहलमा आएको पनि उनले बताए । अब खानेपानी समस्या हल गर्न सुरुङ मार्गलाई बहुउद्देश्यीय आयोजनाकोरुपमा अघि बढाउदै सडक, पानी, सिचाई र विद्युत उत्पादनकोरुपमा उपयोग गर्नुपर्ने र आफु निवार्चित भएर गएपछि अघि बढाउन पहल गर्ने पनि तामाङले बताए । 

यस्तै, सुकुम्बासी समस्या जितेर गएकाहरुले समाधान गर्न नसकेको भन्दै कांग्रेसको सरकार बनेपनि देशभरिकै सुकुम्बासीहरुलाई लालपुर्जा दिने, गाँस बास र कपासको प्रतिवद्धता पनि उनले जनाए । विपी प्रतिष्ठानलाई सुविधासम्पन्न बनाउने र सेवा प्रभावकारी, सर्वसुलभरुपमा उपलब्ध गराउन पहल गर्ने, सर्दु जलाधारको सिमांकनको लागि पहल गरेर जलाधारको नाममा रोक्का भएको जनताको सम्पत्ति फुकुवा गर्ने र सधैको लागि समस्या हल गर्ने, सट्टा भर्नामा नपरेका जग्गा फुकुवा गरेर अन्य जलाधारमा पर्ने जग्गाहरु सरकारीकरण गर्ने पनि उनले बताए । सहकारी पीडितहरुको वचत पैसा फिर्ताको पहल गर्ने साथै आवश्यक कानुन संशोधन गर्ने पनि उनले बताए । उद्योगी, व्यवसायीहरुले सुरक्षितरुपमा व्यापार गर्ने वातावरण तयार गर्ने, दोहोर कर हटाउन पहल गर्ने पनि उनले बताए । 

भिडियो