धरान: श्रम सँस्कृति पार्टीका नेतृ मिना सिंघकको समानुपातिक उम्मेद्वारी खारेज गर्नेलगायत ५ बुँदाको मागहरुबारे बाल सञ्जाल धरान र सुनसरी १ को निर्वाचन अधिकृतको कार्यालयबीच लिखित सहमति भएको छ ।
बालबालिकाहरुलाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको बिषयमा आमरण अनसन शुरु गरेका बाल सञ्जाल प्रतिनिधि र निर्वाचन अधिकृत दिव्यराज घिमिरेबीच मंगलबार लिखित सहमति भएको हो । रोहबरमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख फडिन्द्र दाहाल रहेका छन् । बाल सञ्जालले राखेका ५ बुँदाका मागहरु सम्बन्धित निकायमा लेखी पठाउने सहमति भएको अधिकृत घिमिले जानकारी दिए । ‘बाल सञ्जालको मागहरुलाई सम्बन्धित निकायमा पठाउने भन्ने सहमति गरेर अनसन तोडियो,’ निर्वाचन अधिकृत घिमिरेले भने ।
आज मंगलबार बाल सञ्जालका प्रतिनिधिहरुले धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले यसअघि पनि चुनावी प्रचारप्रसारमा हर्क साम्पाङको टिसर्ट लगाएर बालबालिकाहरुलाई चुनावी प्रचारप्रसार गराएको भन्दै साम्पाङविरुद्ध उजुरी दिएका थिए । सञ्जालले उजुरी दिएपनि कुनै सुनुवाई नभएको भन्दै आज मंगलबार अनसनमा उत्रिएका थिए । यद्यपी, यसअघि नै निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही स्वरुप श्रम सँस्कृति पार्टीलाई २५ हजार जरिवाना गर्ने निर्णय गरिसकेको छ ।
अनसनले निर्वाचन कार्यालयको कामकारबाही नै प्रभावित हुने स्थिति बनेपछि बाल सञ्जालसँग सहमति गर्न बाध्य भएको हो । सम्बन्धित निकायमा लेखि पठाउने सहमति भएका बाल सञ्जालका मागहरुको पहिलो बुँदामा नै मिना सिंघकको समानुपातिक उम्मेद्वारी खारेज हुनुपर्ने भन्ने छ । यस्तै, हालै वडा ४ को अध्यक्षबाट राजिनामा दिएका धनबहादुर राईलाई आचारसंहिता विपरीत कार्यमा कानुनी कारबाही गर्नुपर्ने पनि माग रहेको छ ।
यसैगरि, सम्पुर्ण बाल सञ्जालका सदस्यहरुको सुरक्षाको जिम्मा लिनुपर्ने, सम्बन्धित पार्टीलाई आचारसंहिता उल्लंघन गरेकोमा कानुन वमोजिम कारबाही गर्नुपर्ने र सम्पुर्ण बाल नगर सञ्जाल धरानका सदस्यहरुको व्यक्तिगत फोटोहरु राखेर चरित्र हत्या, गालीगलौज, नकरात्मक कमेन्ट, पोष्ट तथा भिडियो बनाई हाल्नेहरुलाई कानुन वमोजिम कारबाही गर्नुपर्ने पनि माग रहेको छ । यी मागहरुलाई निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित निकायमा कारबाहीको लागि तत्काल लेखि पठाउने सहमति भएको हो ।
उक्त सहमतिमा बाल सञ्जालको तर्फबाट अध्यक्ष मानव विश्वकर्मा र सदस्य रोजन शंकरले हस्ताक्षर गरेका छन् भने निर्वाचन अधिकृत घिमिरले हस्ताक्षर गरेका छन् । केही समयअघि बालबालिकाहरुलाई श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी १ का उम्मेद्वार हर्क साम्पाङको टिसर्ट लगाएर मिना सिंघकले भिडियो पोष्ट गरेका थिए । सिंघक समानुपातिक उम्मेद्वार हुन् ।










