धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को पछिल्लो मतपरिणाम अनुसार श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सरिन तामाङबीचको मतान्तर घटेको छ ।
धरानको वडा नं ७ को मतगणना सकिदासम्म हर्क र सरिनबीचको मतान्तर ९४६ रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा १ देखि ७ सम्म १६७०३ मत गणना भएको छ । त्यसमध्ये ८७४ मत वदर भएको छ ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार श्रम सँस्कृतिका साम्पाङले ६२७९ मत पाएका छन् भने रास्वपाका तामाङको मत ५३३३ रहेको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका मनोज भट्टराईले १३६३ मत पाउदा नेकपा एमालेका टिकाराम लिम्बूले ११०२ मत पाएका छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ९८५ मत, राप्रपाका उद्धव श्रेष्ठले ४०४ र उज्यालो नेपाल पार्टीका डम्बर लावतीले १३१ मत पाएका छन् ।



