धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज(बिहिबार)देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ शुरु हुदैछ ।

धरान १२ स्थित पब्लिक माविको मैदानमा लाग्ने १० दिने औद्योगिक मेलाको तयारी लगभग सकिएको छ । अहिले केही स्टलहरुको र वाल उद्यानको काम अन्तिम चरणमा भइरहेको छ । औद्योगिक मेला फागुन २४ गतेसम्म हुनेछ । मेलासँगै आजबाट जुत्ताचप्पल मेला पनि सोमबारे हटियामा शुरु हुदैछ । जुत्ताचप्पल मेला भने २१ दिन(चैत ७गते)सम्म हुने वाणिज्य सचिव सिताराम आचार्यले जानकारी दिए । उनका अनुसार २ वटा स्टल बन्न बाँकी र सरसफाईको काम बाँकी छ । ‘दिउँसो १२ बजेसम्म सम्पुर्ण तयारी भइसक्छ,’उनले भने । औद्योगिक मेलाको दिउँसो ३ बजे संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्घाटन गर्नेछन् ।

मेलामा स्थानीय घरेलु उत्पादन, कृषि उत्पादन, औद्योगिक उत्पादनसँगै भारत, पाकिस्तान र वंगलादेशबाट पनि स्टलमा सामानहरु ल्याएर राखिएको संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए । मेलामा बैक तथा बित्तिय संस्था २ वटा, होटल ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गानिक अचार चिया, ललिपप ९ वटा स्टल रहनेछ ।

 

audhogik5

 

यस्तै भारत, पाकिस्तान र वंगलादेशको १४ वटा स्टल हुनेछ भने पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिचाई १ वटा, स्थानीय भवन निर्माण १ वटा, अटोमोवाइल २ वटा, विस्कुट, चाउचाउ, कस्मेटिकलगायतको पनि स्टल रहने प्रचार तथा प्रसार उपसमिति संयोजक मानबहादुर विश्वकर्माले जानकारी दिए । दुग्ध विकास संस्थानले व्यापारीलाई दिने रेटमा दुध, ध्यु, आइसक्रिम, नौनीलगायत उपत्पादन बिक्री गर्ने पनि आयोजकले जनाएको छ । संखुवासभाबाट सिस्नुको दाल, बर्मजियाको पेडा, अर्गानिक तरकारी पनि उपलब्ध हुनेछ ।

मेलामा विभिन्न उत्पादनहरुको ८६ वटा स्टल रहने आयोजकले जनाएको छ । मेला अवधिमा करिब ३ लाख मानिसले प्रत्यक्ष अवलोकन गर्ने पनि आयोजकको अपेक्षा छ । बेलुका ५ बजेसम्म निःशुल्क प्रवेश गर्न पाइनेछ भने त्यसपछि शुल्क लाग्ने आयोजकले जनाएको छ । साँझमा सांगीतिक मनोरञ्जनको कार्यक्रम पनि हुने र राष्ट्रिय कलाकारहरु ल्याउदा खर्च लाग्ने भएकोले शुल्क लिइने संघले जनाएको छ । उत्पादनको सामानहरुमात्र राख्दा मानिसहरु कम आउने भएकोले बाल उद्यान पनि राखिएको आयोजकको भनाई छ । बाल उद्यानमा रोटेपिङ, ब्रेक डान्स झुला, मिक्कि माउस, चाद तारालगायत मनोरञ्जनको साधन रहनेछ ।
audhogik2 audhogik4 audhogik6 audhoik audhogik-mela 2

audhogik-mela7