धरान: तलब बृद्धिलगायत विभिन्न १० बुँदे माग राखेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

प्रतिष्ठानका जुनियर फोरम्यान किरण भटराईले अनसनको घोषणा गरेका हुन् उनले आफ्ना माग १५ दिनभित्र पुरा गर्न पनि प्रतिष्ठान पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । भटराईले आफुले दिएको समयभित्र माग पुरा नभए चैत ३ गते बिहान ८ बजेदेखि जिओपिडी भवन अघि आमरण अनसन बस्ने बताए । उनले यसअघि पनि प्रतिष्ठानमा आमरण अनसन बसिसकेका थिए । ‘मागहरु १५ दिनभित्र पुरा नभए आमरण अनसन बस्छुँ,’उनले भने ।

भटराईले तलब वृद्धिसँगै हेल्थ एड तथा हेल्पर, अन्य कर्मचारीहरुको स्तरोन्नतिको लागि शैक्षिक तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न तथा दैनिक ज्यालादारी कर्मचारीहरुको तलब मासिक भुक्तानीको व्यवस्था गर्नुपर्ने र नियमानुसार करार तथा परफरमेन्स करार गरी थप व्यवस्थित गर्न, कर्मचारीहरुको स्वास्थ्य विमा निःशुल्क गर्न, आन्तरिक फाइल बढुवाको विज्ञापन खोल्नलगायत १० बुँदे माग राखेका छन् । कर्मचारी तदर्थ समितिका संयोजक राजन कोइरालाले भटराईको मागहरु जायज नै भएकोले चाडो सम्बोधन गरेर अनसन बस्ने अवस्था आउन नदिन प्रतिष्ठान पदाधिकारीलाई आग्रह गरेका छन् ।

हामीले गर्न चाहेकै माग छन्, अनसन बस्नु पर्दैन: कार्यवाहक उपकुलपति

guru-khanal

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले भने भटराईको मागहरु जाजय रहेकोले पुरा गर्न अनसन बस्नु नपर्ने प्रतिक्रिया दिएका छन् । आफुहरुले गर्न चाहेकै मागहरु भएकोले संक्रमणकालिन अवस्थामा अनसन नबस्न पनि उनले आग्रह गरेका छन् । कार्यवाहक उपकुलपति डा.खनालले सिनेटको निर्णयअनुसार कति तलब वृद्धि गर्ने भनेर कार्यदल गठन भएको र अध्ययन भइरहेकोले अनसन बस्नु नपर्ने बताए ।

‘अनसन बस्नु पर्दैन, हामीले गर्न चाहेकै मागहरु छन् । गलत माग छैन,’खनालले भने,‘कार्यदलले रिपोर्ट दिएपछि कार्यान्वयन हुन्छ ।’ कार्यदलमा चिकित्सक, कर्मचारीका प्रतिनिधि तथा फाइनान्सका विज्ञ भएकोले कुन स्रोतबाट कति प्रतिशत तलब वृद्धि गर्न सकिन्छ भनेर यथार्थ रिपोर्ट आउने उनले बताए ।