धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण विश्वव्यापी हुदै गएपछि अहिले बजारमा सेनिटाइजरको अभाव छ । भाइरसको संक्रमणबाट जोगिन मास्क, सेनिटाइजरलगायत समानको खपत बढेपछि अभाव सृर्जना भएको हो ।

बजारमा सेनिटाइजरको अभाव भएपनि धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभागले भने आफै सेनिटाइजर उत्पादन गर्छ । यहाँको ल्याब सञ्चालनमा आएदेखि नै आफैलाई प्रयोग गर्नको लागि विभागले सेनिटाइजर उत्पादन गरिरहेको थियो । विभागका अनुसार माइक्रोबायोलोजी ल्याब र खाद्या प्रविधिको बेसिक फुडको ल्याबमा पहिलादेखि नै आफैले उत्पादन गरेको सेनिटाइजर प्रयोगमा थियो । अहिले कोरोनाको संक्रमण हुनसक्ने भएकोले क्याम्पसको अन्य स्थानमा पनि सेनिटाइजर प्रयोगको लागि राखिएको माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बुले जानकारी दिए । ‘हामीले अहिले १० लिटर सेनिटाइजर उत्पादन गरेका छौं, यो क्याम्पसमा प्रयोगको लागि हो,’विभागीय प्रमुख लिम्बुले भने,‘यहाँ माइक्रोवायोलोजी पढाई शुरु भएदेखि नै सेनिटाइजर उत्पादन भएको हो ।’

विभागका अनुसार विश्व स्वास्थ्य संगठनले तोके वमोजिमको केमिकल प्रयोग गरेर सेनिटाइजर उत्पादन गरिएको हो । सेनिटाइजरको लागि इथाइल अल्कोहोल, ग्लिसिरिन, हाइड्रोजन पेरोअक्साइड र पानीको अनुपान मिलाए पछि तयार हुने विभागीय प्रमुख लिम्बुले बताए । क्याम्पसमा २०५२ सालदेखि माइक्रोबायोलोजी पढाउन शुरु भएको थियो ।

२ लाख मिलिलिटर उत्पादन गर्ने लक्ष्य

बजारमा सेनिटाइजरको अभाव सृर्जना भएपछि धरान उपमहानगरपालिकाले सेनिटाइजर उत्पादन गर्ने तयारी गरेको छ । पहिलो चरणमा धरानलाई ५ क्षेत्रमा विभाजन गरेर सामाजिक संघसंस्थाका अगुवाहरुलाई सेनिटाइजर उत्पादन प्रशिक्षण दिइने उपमहानगरले जनाएको छ । ‘सरोकारवाला संघसंस्थाहरुलाई तालिम दिएर सिकाउने हो, अहिले मात्र होइन, सेनिटाइजर अरुबेला पनि त चाहिन्छ,’उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने ।

basanta-rai,food

क्याम्पसका खाद्य प्रविधिका प्राध्यापक वसन्त राई सेनिटाइजर प्रयोग गरेर बायोमेट्रिक हाजिरी गर्दै ।

उपमहानगरपालिकाले सेनिटाइजर उत्पादनको लागि एक समिति गठन गरेको छ । समितिका सदस्यसमेत रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोवायोलोजी विभाग प्रमुख धिरेन लिम्बुका अनुसार उपमहानगरले २ लाख मिलिलिटर(२ सय लिटर) सेनिटाइजर उत्पादन गर्ने लक्ष्य राखेको छ । यसको मुल्य करिब ७० हजार रुपैया पर्ने पनि उनले बताए । ‘बजारमा यसको भाउ झण्डै ६ लाख रुपैया पर्ने रहेछ, त्यो प्याकेजिङ सहितको हो,’लिम्बुले भने,‘हामीले पनि सेम्पुको वट्टा, हावा लिक नहुने प्लाष्टिकको भाडा वा पहिला प्रयोग भएको सेनिटाइजरकै बट्टा छ भने त्यसमा प्रयोग गर्नुपर्छ ।’

साबुन पानीले हात धुनु नै प्रभावकारी

बजारमा सेनिटाइजर अभाव सृर्जना भएपछि एकप्रकारको सनसनी जस्तै फैलिएको छ । तर विज्ञहरु भने सेनिटाइजर भन्दा साबुन पानीले हात धुनु नै प्रभावकारी हुने बताउँछन् । साबुन पानी घरमै सहजरुपमा उपलब्ध हुने भएकोले उपमहानगरपालिकालगायत निकायहरुले नागरिकहरुलाई साबुन पानीले हात धुन सजग गराउनुपर्ने नाम उल्लेख नगर्ने सर्तमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकले बताए । उनले भने,‘सेनिटाइजर प्रयोग पनि राम्रो हो, तर नगरपालिकाजस्तो निकायले साबुन पानीले हात धुन जनतालाई सचेत गराउनुको सट्टा सेनिटाइजर दिन थाल्ने हो भने गलत बुझाई हुन्छ, र मानिसहरुले साबुन पानी छोडेर सेनिटाइजर मात्र खोज्ला भन्ने चिन्ता छ ।’

ती चिकित्सकका अनुसार उपमहानगरले साबुन पानीले राम्ररी हात धुन लगाउने अभियान थाल्दा हुने ठाउँमा सेनिटाइजर उत्पादनमा जोडदिएकोमा चिन्ता व्यक्त गरे । ‘सेनिटाइजर वैकल्पिक उपाय मात्र हो, नम्वर वान त साबुन पानी नै हो,’ती चिकित्सक भन्छन्,‘सेनिटाइजर गलत भनेको पनि होइन । तर धेरै प्रभावकारी, भरपर्दो र सहज साबुन पानीले हात धुनु नै हो ।’
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोवायोलोजी प्रमुख लिम्बु पनि ती चिकित्सकको चिन्ताप्रति सहमत छन् । उनी पनि पहिलो प्रथमिकता साबुन पानीले हात धुन लगाउनु नै हुनुपर्ने बताउँछन् । ‘पहिलो प्राथमिकता साबुन पानीले २५ सेकेण्ड हात मिचिमिचि धुनपर्छ भन्ने नै हो, तर सधै सबै ठाउँमा साबुन पानी हुदैन, त्यसैले सेनिटाइजर प्रयोग गर्नुपर्छ भन्ने हो,’विभागीय प्रमुख लिम्बुले भने,‘सेनिटाइजर प्रयोग गर्नुअघि पनि साबुन पानीले हात धुनु राम्रो हो ।’