धरान: विमल गुरुङ कृति पुरस्कारकालागि उत्कृष्ट १० वटा कृति छनौट गरिएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्राप्त भएका १०४ कृति मध्ये उत्कृष्ट १० कृति छनौट गरेको आइतबार जानकारी दिएको हो । उत्कृष्ट १० मध्ये एक श्रेष्ठ पुस्तकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैया प्रदान गरिने पुस्तकालयमा अध्यक्ष पूर्णवहादर गुरुङले जानकारी दिए ।
पुस्तकालयका अनुसार आगामी कात्तिक १९ गते धरान–१८ बुद्धचोकस्थित आफ्नै भवनमा भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ । उक्त दिन कवि विमल गुरुङको ५४ औ जन्मजयती तथा ३४ औ राष्ट्रिय कविता महोत्सव आयोजना हुनेछ ।
छनौटमा परेका उत्कृष्ट १० कृतिहरु डायस्पोराः अवधारणा र अभ्यास (रक्ष राई), रातो नदी (जुनु राना), डोलीभर्ना (डा. चित्र माबो), सिमसारा (बसन्त बस्नेत), काचको पोखरी (टीका भाइ), नातिपुस्ताको खेल (कृष्ण बराल), मोहोर (सागर गैरे), जब कविता निस्कन्छ जुलुसमा (सुरज राना), कोइलाखाद श्याम सिंघक) र गण्डाकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरुको अध्ययन (तेज बहादुर गुरुङ) रहेका छन् ।
यसअघि यो पुरस्कार नरेश काङ्माङको कविता संग्रह तेप्लायु, विजय कैलाशी राईको आख्यान मित्याङ्सा, चन्द्र गुरुङको कविता संग्रह जव एउटा मान्छे हराउछ, र प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शव्दथुमलाई प्रदान गरिएको थियो ।
कविता महोत्सवको लागि १० कविता छनौट
राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरुबाट १० वटा कविता पनि छनौट गरिएको पुस्तकालय संचालन समितिले जनाएको छ । पुस्तकालयलाई प्राप्त भएक ९० कविताहरु मध्ये उत्कृष्ट १० वटालाई छनौट गरिएको पुस्तकालयले जनाएको छ ।
छनौटमा परेका कविताहरुमा छातिभित्र पृथ्वी (रिजन मायालु, इलाम), भूपरिवेष्ठित चेतना (राजु उवरकोटी, दोलखा), संग्रहालयमा थन्किएको खापसियो (दीपा मग्राती, सुनसरी), पसिनाको सौन्दर्य (किशन पौडेल, हेटौडा), अभिशप्त जिन्दगी (बाबुराम श्रेष्ठ, सिन्धुली), रातो रङ्ग (आरती आचार्य, म्याग्दी), सपनाहरुको आंखाबाट (याम मगर, रोल्पा), फर्किन्छु अब देश (विनेश राई मिन्जाई, सुनसरी), दिशाहीन समयको प्रेतात्मा (सून्य नयन, गोरखा) र देशको ठेगाना (शुचरा, खोटाङ रहेका छन् ।
उत्कृष्ट १० मध्ये प्रथमलाई प्रमाणपत्र, स्वर्णपदकसहित नगद २१ हजार रुपैया, द्धितीयलाई प्रमाणपत्र, रजतपदकसहित नगद १९ हजार रुपैया र तृतीयलाई प्रमाणपत्र कास्यपदकसहित नगद १८ हजार रुपैया प्रदान गरिने राष्ट्रिय कविता महोत्सव आयोजक समितिले जनाएको छ ।
काठमाण्डौबाट प्रकाशित हुने दृष्टी साप्ताहिकमा पत्रकारिता गर्दै शसक्त कविता लेखन गर्दा गर्दै २०४८ साल बैशाख २४ गते धादिङको जुकेपानीमा भएको सवारी दुर्घट्नामा परि मृत्यु भएका कवि विमलका तीन कविता संग्रहहरु ‘एक किलो जंगल’ ‘आत्मघोषणा’ र ‘शहरको प्रगाढ मौनता’ प्रकाशित छन् । एक्लो कवि पत्रकार छोराको देहावसान पछि व्रिटिश गोर्खा लाहुरे बाबु पूर्णवहादुर गुरुङ र परिवारले धरानको बुद्धचोकमा ०४९ सालमा जग्गा खरिद गरेर दुइ तले पक्की भवन निर्माण गरी विमलको स्मृतिमा सार्वजनिक पुस्तकालय संचालन गर्दै आएका छन् ।