धरान: आजदेखि धरान उपमहानगरपालिका र धरान १३ स्ति कृषि बजार व्यवस्थापन समितिको सहकार्यमा सबै वडामा उपभोक्ताको घरमै हरियो तरकारी पुर्याउन थालिएको छ ।
वडाअध्यक्षसँग समन्वय गरेर अहिलेसम्म एक दर्जन गाडीहरु विभिन्न वडामा जानको लागि तयारी भइरहेको छ भने केही वडामा गाडीहरु तरकारी बोकेर हिडिसकेको छ । पर्याप्त हरियो तरकारी आइरहे पनि खुद्रा व्यापारीहरुले मुल्य अत्यधिक बढाएको र उपभोक्ताहरु पनि तरकारी किन्न भिड गर्न थाले पछि हिजो आइतबार उपमेयर तथा अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको संयोजकत्वमा आइतबार तरकारी व्यावसायीसँगको छलफलले यस्तो निर्णय गरेको थियो । सोही निर्णयलाई आजदेखि धमाधम कार्यान्वयन गर्न थालिएको हो ।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटवालले निर्णय अनुसार नै उपभोक्ताको घर घरमा तरकारी पुर्याउन शुरु भइसकेको बताए । ‘गाडीमा सहजतरिकाले उपभोक्ताको घर घरमा तरकारी पुर्याउछौं । अहिलेसम्म एक दर्जन बढी गाडी व्यवस्था भइसकेको छ,’अध्यक्ष कटवालले भने,‘वडामा वडाअध्यक्षहरुसँग समन्वय गरेर विभिन्न रुटमा मुल्य सुचीसहितको गाडी गएको छ, वडाअध्यक्ष ज्युहरुले रुटको लागि समन्वय गरिदिनेछन् ।’ उनले मजदुर र गाडी खर्चको केही रकम थप गरेर कृषि बजारको मुल्यमा थोरै मात्र थप गरेर उपभोक्तालाई उपलब्ध गराउने बताए । वडाहरुमा जनप्रतिनिधिहरुले टोल र जनतासँग समन्वय गर्नुपर्ने पनि उनले बताए ।
धरानको वडा १३ मा भने हिजोदेखि नै वडाअध्यक्ष नेत्र काफ्ले आफै खटिएर उपभोक्ताको घरमा तरकारी पुर्याउन शुरु गरिसकेका थिए । आज पनि आफ्नो वडामा २ वटा गाडी घर घरममा तरकारी पुर्याउन गइरहेको उनले बताए ।
कृषि बजारले खुद्रा व्यापारीलाई बिक्री नगर्ने
धरान १३ स्थित कृषि बजारले खुद्रा पसल तथा व्यापारीहरुलाई तरकारीजन्य सामान बिक्री नगर्ने भएको छ । मेयर तिलक राईको बिशेष आतिथ्यमा हिजो भएको छलफलले यो निर्णइ गरेको हो । लकडाउनको अवस्थामा पनि बिहान र बेलुकी तरकारीको खुद्रा पसलमा उपभोक्ताहरुको घुँइचो लाग्ने गरेको छ भने व्यापारीहरुले पनि जथाभावी मुल्य असुल गरिरहेको कारण यस्तो निर्णय लिइएको हो । छलफलले धरान भित्रने सबै तरकारीहरु कृषि बजारमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।
साथै, तरकारी व्यवसाय व्यवस्थित गर्न धरान उपमहानगरपालिका संयोजक रहेको १४ सदस्यीय समिति पनि गठन भएको छ । उक्त समितिमा कृषि बजार व्यवस्थापन समिति, तरकारी व्यवसायीहरुको संघसंस्थाको प्रतिनिधि, प्रहरी, उपभोक्ता अधिकारकर्मी, सशस्त्र प्रहरी, थोक व्यवासायीका प्रतिनिधिहरु समेटिएका छन् । छलफलको निर्णय कार्यान्वयनको लागि सबै वडा कार्यालयहरुमा पनि उपमहानगरपालिकाले पठाइसकेको छ । उपभोक्ताहरुको अत्यधिक गुनासो आएपछि उपमेयर भण्डारीले आइतबार बिहानै धरान ३ स्थित पालिका बजारमा आकस्मिक अनुगमन गरेकी थिइन् भने कृषि बजारमा आवश्यक जानकारी पनि लिएकी थिइन् ।