विराटनगर: प्रदेश एकको क्वारेन्टाइनमा बुधबार ३ सय १७ जना थपिएका छन् । मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार बुधबार ३ सय १७ जना थपिएर क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३६ पुगेको छ ।
मंगलबारसम्म २ सय १९ जना मात्र क्वारेन्टाइनमा थिए । मुख्यमन्त्री कार्यालयका कानुन सचिव भरतमणी रिजालले दिएको जानकारी अनुसार थपिएकामध्ये १ सय ९९ जना पुरुष छन् भने महिलाको संख्या १ सय १८ जना छ । यसैैगरि, कुल ५ सय ३६ मध्ये पुरुषको संख्या ३ सय ९२ रहेको छ भने महिलाको संख्या १ सय ४४ जना पुगेको छ ।
होम क्वारेन्टाइनमा बस्नेको कुल संख्या भने एक हजार ३५ पुगेको छ । आज मात्र ७ सय १७ जना थपिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । हजार ३५ मध्ये पुरुषको संख्या ७ सय ७८ छ भने महिलाको संख्या २ सय ५७ रहेको छ । भारत वा तेस्रो मुलुकबाट १५ दिनभित्र आएकाहरुलाई तथ्यांक लिएर निगरानीमा राखिएको हो । बुधबारसम्म आइसोलेसनमा बस्नेको संख्या ९ जना पुगेको छ । ती मध्ये ६ महिला र ३ पुरुष छन् । बुधबार आइसेलेसनमा २ जना महिला थपिएका हुन् ।
५४ परीक्षणमध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ
प्रदेश एकमा हालसम्म कोरोना भाईरसको आशंका गरिएका कुल ५४ जनाको स्वाबको नमुना संकलन गरिएको छ । ती मध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको पनि प्रदेश सरकारले जानकारी दिएको छ । अन्य १२ जनाको रिपोर्ट भने आउन बाँकी नै छ । थ्रोट स्वाबको नमुना संकलन गरिएको ५४ जना मध्ये पुरुष ४२ जना छन् भने १२ जना महिला हुन् । रिपोर्ट आएका ४२ जना मध्ये पुरुष संख्या ३३ रहेको छ भने महिलाको संख्या मात्र ९ रहेको छ ।
हालसम्म झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । ती मध्ये आज मात्र प्रदेश एकबाट ८ जनाको नमुनना संकलन भएको हो । त्यसमध्ये पुरुष ६ जना र महिला २ जना रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नै थ्रोट स्वाबको नमुना परीक्षण शुरु भएपछि रिपोर्ट विगतमा भन्दा छिटो आउन थालेको छ ।
प्रदेश एकमा ४३ अस्पतालले ३ सय ८५ आईसोलेसन वेड तयारी अवस्थामा राखेको छ भने क्वारेन्टाइन बेड संख्या ३ हजार ४ सय ५४ तयारी अवस्थामा पुगेको छ । आइसियुको संख्या ४० पुगेको छ । प्रदेशभर ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेको छ भने हालसम्म ती फिवर क्लिनिकमा १ हजार २ सय ४६ जना विरामी आएका छन् ।