विराटनगरः प्रदेश एकको विभिन्न जिल्लामा १३७ जना क्वारेन्टाइनमा रहेको आन्तरिक मामिला तथा तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका उपसचिव एवं सुरक्षा समितिका सदस्य सचिव कमल थापाका अनुसार यो तथ्यांक झापा, मोरङ, इलामको क्वारेन्टाइनमा रहेकाहरुको तथ्यांक हो । केही संख्यामा होम क्वारेन्टाइनमा छन् भने अधिकांश घरबाहिर व्यवस्था गरिएको क्वारेन्टाइनमा छन् । अधिकांश भारतबाट काकाडभिट्टा र जोगवनी नाका हुदै चैत ११ गते आएका नेपालीहरु हुन् । ‘जम्मा १३७ जना क्वारेन्टाइनमा छन्, हामीसँग नामसहित नै तथ्यांक छ,’उपसचिव थापाले भने । सबैभन्दा बढी झापाको विभिन्न क्वारेन्टाइनस्थलमा ८३ जना छन् ।

मन्त्रालयका अनुसार मोरङको टाँडी क्वारेन्टाइनमा ४७ जना छन् भने इलामको सिङथिङ हस्पिटलमा ६ जना छन् । यस्तै, फ्रान्सबाट आएकी संक्रमित युवतीकै फ्लाइटमा आएका एक व्यक्ति इलाममा होम क्वारेन्टाइनमा रहेका छन् । झापाको डिल्लीराम माविमा ३ जना, जनता माविमा ४ जना, मेचीनगरको धाइजन क्वारेन्टाइनमा १७ जना, दमक ४ को दाहाल प्रतिष्ठानमा २३ जना छन् भने कमल गाउँपालिका ३ को शहिद धर्मभक्त क्वारेन्टाइनमा २ जना, गौदह नगरपालिकाको अतिथि सदनमा १ जना र मेची आँखा अस्पताल विर्ताबजारको क्वारेन्टाइनमा ३२ जना छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरले सबै जिल्ला एवं स्थानीय पालिकाहरुले स्थानीय स्रोत र साधनअनुसार क्वारेन्टाइन स्थापना गरेको जानकारी दिए । स्थानीय स्वास्थ्य सँस्थाहरुमा सहजउपचार गर्न सक्ने उपचार केन्द्रसमेत बनाएको पनि उनले बताए । मन्त्री घिमिरेकय अनुसार काठमाण्डौबाहिर धरानको विपी प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण गर्ने ल्याव स्थापना गरिदैछ । यसले थप सहज हुने घिमिरेको भनाइ छ ।