धरान: कोरोना संक्रमण देखिएको युवतीसँगै कतारबाट नेपाल आएका मध्ये सुनसरीका २ जना प्रहरी र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छन् ।

ती मध्ये धरान ६ का एक जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ भने सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाका अर्का व्यक्तिलाई होम क्वारेन्टाइनमा पठाइएको छ । धरान ६ का व्यक्तिलाई हिजो मंगलबार नै प्रतिष्ठानमा लगिएको थियो । भोक्राहा नर्सिङका अर्का व्यक्ति भने आज दिउँसो वीपी प्रतिष्ठानको हेल्प हेस्कमा आएका थिए । श्रीमतिसहित प्रतिष्ठान आएका उनलाई ज्वरो, रुघाखोकी केही पनि नभएकोले होम क्वारेन्टाइनमा रहने गरी घर पठाइएको हो । कोरोना संक्रमित युवतीसँगै आएका जहाजका १५८ यात्रुहरुमध्ये ४ जना सुनसरीको भएको खुलेको छ । ती मध्ये २ जना सम्पर्कमा आइसकेका हुन् ।

धरानका दुई जना टाँडी क्वारेन्टाइनमा गए

दुबई र भारतबाट आएका धरानका दुई जनालाई मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको छ । स्वास्थ्यमा कुनै पनि समस्या नभए पनि उनीहरुकै इच्छा अनुसार क्वारेन्टाइन लगिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य मशाहाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

ट्राभल हिष्ट्रि(विदेशबाट आएको) भएपनि उनीहरुमा ज्वरो, रुखाखोकीलगायत कोरोना संक्रमण हुने कुनै पनि लक्षण थिएन । त्यसैले दुवै जना १४ दिनसम्म घरमा नै क्वारेन्टाइनमा बस्दा पनि हुने थियो । ‘दुवै जनाको इच्छा बाहिर नै क्वारेन्टाइनमा बस्ने भन्ने भयो, त्यसैले टाँडी पठाइयो,’मेहताले भने ।

उनीहरु दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आवश्यक चेकजाँच भएको थियो । त्यसपछि स्वाब पनि लिएर दुवैलाई प्रतिष्ठानले क्वारेन्टाइनमा बस्न सिफारिश गरेको थियो । प्रतिष्ठानको सिफारिश पछि उपमहानगरपालिले पत्र लेखेपछि प्रहरीको स्कर्टिङमा सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइनमा पठाइने गरिन्छ ।

वीपीको आइसोलेसनमा ७ जना

वीपी प्रतिष्ठानको कोरोना उपचारको लागि तयार गरिएको आइसोलेसनमा एक चिनिया नागरिकसहित ७ जना छन् । उनीहरु धरानसहित विभिन्न ठाउँबाट आएका हुन् । प्रतिष्ठानका अनुसार चिनिया नागरिक र मोरङको बेलबारी १० का उनको साथी आइसोलेसनमा छन् । यस्तै, बराहक्षेत्र नगरपालिका ६ का श्रीमान् र श्रीमति पनि आइसोलेसनमा छन् । मोरङको कानेपोखरी ५ का एक दम्पत्ति पनि आइसोलेसनमा नै रहेका छन् भने फ्रान्सबाट कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा आएका धरान ६ का व्यक्ति पनि आइसोलेसनमा नै राखिएको छ । उनीहरुलाई उपचार आवश्यक भएकोले आइसोलेसनमा राखिएको हो ।