धरान: लकडाउनले गर्दा घरबाहिर हिडडुल गर्न समस्या छ । भान्सामा आवश्यक खाद्यान्न तथा तरकारी सकिए पसलसम्म नहिडी पनि हुन्न । तर, दुई दिन यता धरानमा प्रहरीले लकडाउनलाई झनै कडा गरेको छ ।

लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले पैदल हिड्ने र जुनसुकै सवारीमा हिड्ने व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिन थालेको छ । त्यसरी नियन्त्रणमा लिएकाहरुलाई प्रहरीले धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा करिब ३ घण्टा राखेर कोरोना भाइरस(कोभिड १९)बारे जनचेतनामुलक कक्षा दिएर छोड्ने गरेको छ । प्रहरीको यो कदमलाई धेरैले तारिफ गरेका छन् भने केहीले तरकारी किन्न गएकाहरुलाई पनि त्यसरी नियन्त्रणमा लिएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी पनि गरेका छन् । कतिले सामाजिक सञ्जालमा नै तरकारी कुन समयमा किन्न जानु ? भन्ने प्रश्न पनि गरेका छन् ।

आम जनताले गरिरहेको यही प्रश्न हामीले इलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी ढुण्डीराज न्यौपानेलाई गर्यौं । उनले निश्चित समय तोकिएको नभए पनि बिहानको समयमा ९ बजेसम्म हरियो तरकारी किन्नलाई छुट दिइएको बताए । तर, त्यसको लागि पनि निश्चित अनुशासनमा रहनुपर्ने उनको बताए । ‘तरकारी किन्न जान पाउछ, बिहानको ९ बजेसम्म वडा कार्यालयले सिफारिश गरेको सब्जी पसल खुला रहन्छ,’डिएसपी न्यौपानेले भने,‘आफ्नो घर नजिकको पसलमा किन्न जानुपर्छ, र तरकारी किनिसकेर फर्किहाल्नुपर्छ ।’

tarkari

डिएसपी न्यौपानेले तरकारी किन्न जादा पनि घरको एक जना व्यक्ति मात्र जानुपर्ने बताए । साथै, मास्क अनिवार्य लगाउने र एक पटक तरकारी किन्न जादा ४, ५ दिनलाई पुग्ने गरि किनेर ल्यान पनि उनले आग्रह गरे । तरकारी खरीद गर्दा पनि एकअर्कामा दुरी कायम राख्न डिएसपी न्यौपानेले आग्रह गरे । ‘यो तपाई हामी सबैको स्वास्थ्य र सुरक्षाकै लागि हो, त्यसैले लापरवाही नगरिदिनुस्,’उनले भने,‘घर नजिकै तरकारी किन्न जानुस्, जादा एक जना मात्र जानुपर्छ । समुह बनाएर नजानुस्, मास्क लगाइदिनुस्, एकै पटक ४, ५ दिनको लागि किन्नुस् र किनेर फर्किहाल्नुस् ।’ प्रहरीले नियन्त्रणमा लिए लकडाउन पछि मात्र चाबी फिर्ता गर्ने भएकोले उनले मोटरसाइकल वा स्कुटरमा नहिड्न पनि आग्रह गरे ।