धरान:कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइन भएको ठाउँसम्म पुर्याउन धरानमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ ।

धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्स चालक संघ सुनसरीको संयुक्त बैठकले ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय भएको हो । यो सेवा निःशुल्क प्रदान गरिने छ । भोली(आइतबार)देखि नै ४ वटा एम्बुलेन्स वीपी प्रतिष्ठानमा तयारी अवस्थामा रहने निर्णय गरिएको धरानका मेयर तिलक राईले जानकारी दिए । ‘कोही बाहिरबाट आउनुभएको व्यक्ति छन्, र उनलाई क्वारेन्टाइनमा लैजानुपर्ने भयो भने हामी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउछौं,’मेयर राईले भने,‘यसको लागि भोली आइतबारदेखि नै वीपी प्रतिष्ठानमा एम्बुलेन्स तयारी अवस्थामा रहन्छ ।’

यो एम्बुलेन्स सेवा रेडक्रसको १ वटा, वीपी प्रतिष्ठानको १ वटा र एम्बुलेन्स चालक संघको २ वटा हुनेछ । ती एम्बुलेन्स प्रतिष्ठानको जिओपिडी अगाडिको हेल्प डेस्कमा रहनेछ । क्वारेन्टाइनमा लैजान आवश्यक विरामीलाई एम्बुलेन्समार्फत पुर्याइनेछ भने क्वारेन्टाइनबाट ल्याउनुपर्ने व्यक्तिलाई पनि ल्याइनेछ । हेल्थ डेस्कमा प्रहरी पनि परिचालन गर्ने निर्णय भएको छ भने स्कुलहरु विदा भएकोले शिक्षकहरुलाई सचेतना अभियानमा परिचालन गरिने पनि मेयर राईले जानकारी दिए । वीपी प्रतिष्ठानका चिकित्सकहरुले परामर्श गरेर विभिन्न सेक्टरहरुमा खटाउने उनले बताए ।

यस्तै, अभाव देखिएको मास्क महिला दिदीबहिनीहरुमार्फत उत्पादन गर्ने तयारी भइरहेको बताए । इलका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र कार्कीले धरानमा पर्याप्त आपूर्तिको सरसामानहरु भएकोले सेल्फ क्वारेन्टाइनमा रहेर आफै सुरक्षित हुन आग्रह गरे । ‘धरान अहिलेसम्म सुरक्षित ठाउँ हो, बजारमा पर्याप्त आपूर्तिको सामान छ, समस्या छैन, आफै सचेत होऊ,’उनले भने । रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले संकटको बेला मास्क अभाव भएकोले सहज बनाउन पनि आग्रह गरेका थिए । 

वरामद भएको मास्क सेवाग्राहीलाई वितरण

करिब दुई साताअघि उपमहानगरपालिकाको अनुगमन टोलीले धरान १८ स्थित गार्जियन फर्माबाट करिब १९ सय मास्क लुकाएको अवस्थामा वरामद गरेको थियो । ती मास्कहरु सर्वसाधारण सेवाग्राहीलाई वितरण गरिएको मेयर तिलक राईले बताए । शनिबार उपमहानगरपालिकामा कोरोना सम्बन्धी बैठकमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै मेयर राईले भने,‘हामीले ती मास्क सेवाग्राहीहरुलाई वितरण गरिसक्यौं । गार्जियनलाई एक पटक सचेत गरायौं ।’