धरान: इलाका प्रहरी कार्यालय धरानले भारतीय नम्बर प्लेटको कुनै पनि भारतीय नम्बर प्लेट भएको गाडीलाई धरान भित्रिन रोक लगाएको छ ।
धरानमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले यस्तो कदम चालेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले तरकारी र फलफुल बोकेका गाडी पनि भित्रिन नदिएको बताए । ‘धरानभित्र भारतीय नम्बर प्लेटका कुनै पनि गाडी आउन दिएका छैनौं,’क्लिक धरानसँग कुरा गर्दै डिएसपी न्यौपानेले भने,‘नेपाल भित्रबाटै आएको गाडी छ भने पनि इण्डियन ड्राइभर छ छैन हेरेर र स्वास्थ्य स्थिति हेरेर मात्र धरानबाट धनकुटा, संखुवासभातिर सिधै जाने गाडी पठाउने गरेका छौं ।’
डिएसपी न्यौपानेले लोकल उत्पादन भएको तरकारी घरघरमा बेच्न लानेहरुलाई छुट दिएको बताए । यस्तै, पहिलादेखि नै होम डेलिभरी गरिरहेका धरानका अर्गानक फर्महरुलाई पनि प्रहरीले नरोकेको उनको भनाई छ । ‘लोकल उत्पादन डोकोमा बेच्न जान सक्नुहुन्छ । तरकारी आयात नभएपछि तरकारी पसलहरु त बन्द नै हुन्छ, तर केही रहेका छन् भने त्यस्तो नबिग्रियोस्, नकुहियोस् भनेर छोडिदिन्छौं,’डिएसपी न्यौपानेले भने ।
धरानभित्र सवारी पास भएको, अत्यावश्यक काममा हिडेको तथा अस्पताल विरामी लैजादै वा लिएर फर्कदै गरेकाहरुलाई भने नरोक्ने उनले बताए । तर, अनावश्यक र घुम्न निस्केर लकडाउन उल्लंघन गर्नेहरुलाई भने अबदेखि भानुचोकस्थित बसपार्कमा नै राखेर कोरोना भाइरसबारे ब्रिफिङ गर्न थालेको पनि डिएसपी न्यौपानेले बताए । ‘लकडाउन उल्लंघन गर्नेलाई पहिला पब्लिक स्कुलमा जम्मा गथ्यौं, अब भानुचोकको बसपार्कमा सोसियल डिस्टेन्स सहित ब्रिफिङ गरेपछि छोडिदिन्छौं,’उनले भने ।