धरान: आवश्यक खाद्यान्न खरीद गर्न नपाएको जनगुनासो आएपछि सुनसरीमा बिहानको समय किनमेल गर्न छुट दिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला सुरक्षा समिति बैठकमा पनि यो बिषयमा छलफल भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चिरञ्जिवि गिरीका अनुसार स्थानीय तह, प्रहरी, उद्योग वाणिज्य संघबीच समन्वय गरेर बिहान ३ घण्टा किनमेलको लागि समय दिने भनिएको हो । ‘भिडभाड हुने गरी भन्ने होइन । सामाजिक दुरी कायम राख्दै, सुरक्षाका उपायहरु अवलम्बन गर्दै, स्थानीय तह, प्रहरी, उद्योग वाणिज्य संघको सहकार्यमा बिहान ३ घण्टा खाद्यान्न किनमेलको लागि दिइने भनिएको हो,’उनले भने ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले खाद्यान्न किन्न पाएनौं भन्ने जनगुनासोलाई मध्यनजर गर्दै यस्तो निर्णय जिल्ला सुरक्षा समितिबाट भएको हुनसक्ने बताए । धरानमा बिहान ६ बजेदेखि ९ बजेसम्म किनमेल समय थप व्यवस्थित गरिने उनले बताए । ‘उद्योग वाणिज्य संघसँग समन्वय गरेर पसलहरुलाई पालो सिस्टम गर्ने हो कि भनेर आवश्यक छलफल गछौं,’डिएसपी न्यौपानेले भने,‘सबै पसल खोल्न दिइने होइन, निश्चित पसलहरुमा सामाजिक दुरी रहने गरि, चिह्न बनाएर मात्र किनबेच गर्न पाइनेछ । त्यसो नगर्ने पसल बन्द हुन्छ ।’