धरान: एक साताको लकडाउन पश्चात पर्सि(बिहिबार)देखि धरान १३ स्थित कृषि बजार खुल्ने भएको छ ।

आज धरान उपमहानगरपालिकामा भएको बैठकले तरकारीको आपूर्ति सहज बनाउन कृषि बजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बैठकले बिहान ९ बजेभित्र तरकारी वितरण गरिसक्ने र १० बजेभित्र बजार बन्द गरिसक्ने पनि निर्णय गरेको छ । साथै, पहाडमा उत्पादन भएको तरकारी र राजमार्ग उत्तरको छिमेकी नगर, गाउँमा उत्पादन भएको तरकारी पनि आयात हुन दिने निर्णय भएको छ । तर, ती छिमेकी गाउँ तथा नगरको तरकारी भने सम्बन्धित गाउँ, नगरपालिका वा वडा कार्यालयले त्यही उत्पादन भएको प्रमाणित गरेको पत्र पनि साथमा हुनुपर्ने निर्णय भएको अनुगमन समितिकी संयोजक एवं उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । ‘भोली कृषि बजारले आवश्यक तयारी गर्ने र पर्सिदेखि खुल्ने निर्णय भयो,’उनले भनिन्,‘पहाड र धरानको छिमेकी गाउँ,नगरबाट पनि तरकारी आउन दिने तर त्यहाँको गाउँ, नगरपालिका वा वडा कार्यालयले प्रमाणित गरेको हुनुपर्ने निर्णय भएको छ ।’

krisi-bajar

बैठकले धरानको वडा कार्यालयले आफ्नो वडामा तोकेको केन्द्र वा पसलमा मात्र तरकारी बिक्री गर्न दिने निर्णय गरेको छ । भिड व्यवस्थापन गर्नको लागि ती बिक्री केन्द्र वा पसलहरुमा कृषि बजारका व्यापारीहरुले नै माग वमोजिम तरकारी पुर्याइदिनुपर्ने पनि निर्णय भएको छ । यसको लागि बुधबार आवश्यक तयारी गरिने कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ‘एउटा वडामा पिकअपमार्फत पसलले माग गरे वमोजिमको तरकारी सम्बन्धित डिपो वा पसलमा पुर्याउने भन्ने निर्णय छ, यसलाई कसरी सहज बनाउने भनेर थप छलफल गछौं,’उनले भने ।

व्यवस्थापक भट्टराईका अनुसार वितरणलाई व्यवस्थित बनाउन धरानको २० वटा वडालाई २ भागमा विभाजन गरिएको छ । ती मध्ये पहिलो १० वडालाई एक दिन तरकारी पठाइन्छ भने बाँकी १० वडालाई अर्को दिन तरकारी पठाइन्छ । ‘१० वटा वडालाई पनि २ भाग गरेर एक घण्टा ५ वटा वडालाई र अर्को एक घण्टा बाँकी ५ वटा वडालाई पठाउने समय छुट्याइन्छ,’उनले भने,‘बिहान ९ बजेसम्म कृषि बजारबाट तरकारी वितरण भइसक्छ, र १० बजेभित्र व्यापारीहरुले हिसाब सकेर त्यो दिनलाई कृषि बजार बन्द हुन्छ ।’

यसअघि भारतबाट आउने तरकारीको गाडीमा लुकेर मानिसहरु आउजाउ गर्नसक्ने खतरा भएपछि कृषि बजार बन्द गर्नुपर्ने माग उठेको थियो । एक जना व्यापारी भारतबाट धरान आइपुगेको सार्वजनिक भएपछि कृषि बजार एक सातालाई बन्द गरिएको थियो । ती व्यापारीको आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ भने उनलाई फ्रुसेस्थित सैनिक महाविद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।