धरान: उपभोक्तालाई सहजरुपमा तरकारी उपलब्ध गराउन साथै तरकारी बजार अनुगमन गर्नको लागि एक अनुगमन समिति गठन गरिएको छ ।

तरकारीलाई सहजरुपमा विरतण गर्न आज बिहान बसेको बैठकले अनुगमन समिति गठन गरेको हो । अनुगमन समितिको संयोजक उपमेयर मञ्जु भण्डारी सुवेदी रहनेछिन् । बजार अनुगमन समिति मातहतको यो समितिमा वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, उपभोक्ता मञ्चकोतर्फबाट अनिल श्रेष्ठ, कृषि बजारस्थलका अध्यक्ष पर्शुराम कटवाल, बजार अनुगमन शाखाका अधिकृत, धरान ३ स्थित पालिका बजारका राजेन्द्र दर्नाल र सुनसरी उद्योग वाणिज्य संघ पनि सदस्य रहनेछन् ।

समितिले तरकारीको सहज आपूर्ति भए नभएको अनुगमन गर्नेछ भने तरकारी तथा फलफुलको मुल्य, दररेटमा एकरुपता भए नभएको पनि अनुगमन गर्ने उपमेयर भण्डारीले जानकारी दिइन् । ‘हिजो नीतिगत निर्णय भएको थियो, त्यसलाई सहजीकरण गर्न आज पुनः बैठक बसेर अनुगमन समितिलगायतका केही निर्णयहरु गरिएको हो,’उपमेयर भण्डारीले भनिन् । अनुगमन समितिले कृषि बजारमा कृषि उत्पादन नल्याई रातारात किनबेच गर्ने व्यापारीलाई पनि कडाई गर्नेछ भने तोकिएको दररेट भन्दा बढी मुल्य लिएर तरकारी बेचिएको भेटिएमा पनि कारबाही गर्नेछ ।

फोटो टाँसेको नयाँ सिफारिश चाहिने

तरकारी बिक्रीको लागि धरानको सम्बन्धित वडा कार्यालयले सिफारिश गरेको पसल वा व्यक्ति(व्यापारी)ले मात्र कृषि बजारबाट हरियो तरकारी खरीद गर्न पाउनेछन् । त्यसको लागि यसअघि गरिएको सिफारिश काम लाग्ने छैन । अब वडा कार्यालयबाट नयाँ सिफारिश लिनुपर्ने वडा १३ का अध्यक्ष एवं कृषि बजार सञ्चालक समिति सदस्य नेत्र काफ्लेले जानकारी दिए । ‘यो भन्दा पहिलाको सिफारिश खारेज भयो, अब वडाबाट फोटो टाँससहितको नयाँ सिफारिश ल्याएर आए मात्र कृषि बजारबाट तरकारी किनेर बेच्न पाइन्छ,’उनले भने ।

वडाले तोकेको पसलहरुले बिहान ९ बजेभित्र कृषि बजारबाट आफुलाई आवश्यक तरकारी खरीद गरिसक्नुपर्नेछ । त्यसको लागि कृषि बजारले कुन दिन कुन वडाले खरीद गर्न पाउने भन्ने तालिका सार्वजनिक गर्नेछ । तोकिएको वडाहरुलाई पनि आफ्नो खरीद गर्न पाउने दिन बिहान ३ सिफ्टमा खरीद गर्ने समय मिलाइनेछ । ती वडाका अनुमति प्राप्त व्यापारीले ४५ मिनेटभित्र कृषि बजारभित्र प्रवेश गरेर आफुलाई आवश्यक पर्ने तरकारी किनेर बाहिरिसक्नुपर्ने वडाअध्यक्ष काफ्लेले जानकारी दिए ।