धरान: जनगुनासोलाई मध्यनजर गर्दै भोली बिहिबारदेखि धरानका खाद्यँन्न पसलहरु बिहान तीन घण्टा खोल्न दिइनेछ ।
बिहान ६ बजेदेखि ९ बजेसम्म आवश्यक सुरक्षाका उपायहरु अपनाएर धरानका खाद्यान्न पसलहरु खुल्न दिइने भएको हो । यसको लागि सुनसरी उद्योग वाणिज्य संघले प्रथम उपाध्यक्ष्ँ शिवराज श्रेष्ठको संयोजकत्वमा एक अनुगमन समिति पनि गठन गरेको छ । समितिले खाद्यान्न पसलहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको हेर्नेछ भने खाद्यँन्नहरुको दररेटबारे पनि अनुगमन गर्नेछ । खाद्यान्न पसलहरु सञ्चालन गर्न दिने बारे आज दिउसो सुनसरी उद्योग वाणिज्य संघमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसहित धरानका सुरक्षाअधिकारीहरुको उपस्थितिमा छलफल भएको थियो ।
संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार धरानका खाद्यान्न पसलहरु बिहिबार बिहानदेखि खुल्नेछन् । तर, सबै खाद्यान्न पसलहरु सञ्चालनमा आउन भने पाउने छैन । ‘एउटै घरमा ३, ४ वटा पसल छ भने सबैले खोल्न पाउनेछैन । एक दिन एउटाले र अर्को दिन अर्को पसलले पालैपिलो खोल्नुपर्नेछ,’अध्इक्ष सापकोटाले भने,‘एकै लाइनमा भए पनि ५० मिटरको दुरीमा छ भने वा बाटो वारी र पारी छ भने खोल्न पाउछ । मुल्यबारे पनि हेछौं । कतिमा ल्यायो, ढुवानी कति पर्यो र कतिमा बेच्दैछौं, त्यो पनि हेछौं ।’
खाद्यान्न पसल खोल्दा सामाजिक दुरी कायम हुर्नेछ भने व्यापारी र ग्राहकहरुले अनिवार्य मास्क लगाउको हुनुपर्नेछ । साथै, हरेक पसलमा साबुन पानी वा सेनिटाइजरको व्यवस्था पनि गरिएको हुनुपर्ने अनुगमन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । उनका अनुसार घरबाट एक जना मात्र सामान किन्न आउनुपर्ने बताए । बिहिबार बिहानदेखि वडाअध्यक्षहरुसँग समन्वय गरेर अनुगमन गरिने बताए । कुन ठाउँमा खोल्न दिने भन्नेबारे समन्वय गरिने र खाद्यान्नको दररेटबारे पनि अनुगमन गरिने श्रेष्ठले बताए । ‘कालाबजारी भयो भन्ने पनि कुरा उठ्यो र, त्यसबारे पनि हेछौं,’उनले भने ।
छलफलमा सुनसरीका प्रजिअ पौडेलले बिहान ६ देखि ९ बजेसम्म पसलहरु आलोपालो गरि खोल्न दिने र स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनहरु पालना गर्नुपर्ने बताए । व्यापारीले अवैधानिक तवरले कमाउने नियत राखि व्यवसाय सञ्चालन गरेमा कानूनी दायरामा ल्याउने समेत बताए । धरानका डिएसपी ढुण्डीराज न्यौपानेले एकै ठाउँमा धेरै पसल छ भने पालैपिलो खोल्न पाउने बताए । कम्तीमा ५० मिटरको दुरीमा भएको पसलहरु मात्र खोल्न पाउने नत्र पालैपिलो खोल्नुपर्ने डिएसपी न्यौपानेले बताए । व्यवसायीलाई दिएको समय भन्दा अन्य समय पसल नखोल्न अनुरोध गर्दै उक्त समयलाई अटेर गरेमा कार्वाही गर्ने बताए । कार्यसमिति सदस्य एवम् अनुगमन समितिका सदस्य विष्णु बरालका अनुसार समितिले कुनैपनि वस्तुहरुको बजारमा अभाव हुन नदिन समितिले समन्वय गर्ने तथा खाद्यान्न तथा तरकारीको गुणस्तर र मूल्य सम्बन्धमा पनि समितिले अनुगमन गर्ने बताए ।