धरान: वडा कार्यालयहरुसँग समन्वय गरेर पसलहरुको लिष्ट तयार गरेपछि धरानमा खाद्यान्न पसलहरु खुल्ने भएको छ ।

आज सुनसरी उद्योग वाणिज्य संघमा भएको बैठकले यसअघि तरकारी पसल खोल्न अपनाइएको मोडालिटी अनुसार नै खाद्यान्न पसलहरु पनि सञ्चालन गर्ने सहमति गरेको हो । बैठकमा वडा कार्यालयसँग सहकार्य गरेर कहाँ कहाँ पसल खोल्न आवश्यक छ, त्यसको लिष्ट तयार गरेपछि खोल्न गरेको प्रस्तावमा सहमति जुटेको हो । ‘वडा कार्यालयहरुसँग सहकार्य गरेर कहाँ कहाँ पसल खोल्न आवश्यक छ, त्यसको लिष्ट तयार गरेपछि खोल्ने खोल्ने कुरा भयो,’सुनसरी उवासंघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले भने,‘धेरै पसल भयो भने आलोपालो गरेर खोल्ने भएको छ ।’

उपाध्यक्ष श्रेष्ठका अनुसार उपमहानगरपालिकाले वडा कार्यालयहरुलाई पसलहरुको सुची माग गर्नेछ । वडा कार्यालयले अध्ययन गरेर कुन ठाउँमा कति वडा पसल आवश्यक छ भन्ने निक्यौल गरेपछि सुची उपलब्ध गराउनेछ । त्यसको आधारमा धरानमा पसलहरु खुल्ने उनले बताए । ‘पसलहरुमा संघले मुल्यसुची राखिदिनुपर्ने छ । यस्तै, सामाजिक दुरी र सुरक्षाको उपायहरु अपनाउनुपर्ने हुन्छ,’प्रथम उपाध्यक्ष श्रेष्ठले भने,‘पसल अघि डोरी तान्नुपर्ने, ग्राहकहरुको लागि चिह्न राख्नुपर्ने र साबुन पानी पनि राख्नुपर्नेछ ।’ उनका अनुसार व्यापारीले मास्क र ग्लोब्स् अनिवार्य प्रयोग गर्नुपर्नेछ भने पैसा लिनको लागि सेनिटाइजर राख्नुपर्नेछ । यस्तै, ग्राहकहरुले पनि अनिवार्य मास्क र ग्लोब्स् लगाउनुपर्नेछ ।

Chalfal-1-(1)

धरानका प्रमुख तिलक राईले प्रतिकुल अवस्थामा व्यवसायीहरुले व्यापार गर्नभन्दा पनि सेवामुलक भावनाले काम गर्न अनुरोध गरेका थिए । उनले नगरबासीहरुले पनि आफ्नो खानपानमा परिवर्तन गर्दै जोहो गर्नुपर्ने पनि बताएका थिए । उपप्रमुख मञ्जु भण्डारीले तरकारी बजारको व्यवस्थापनमा धरान नमुना रहेको धारणा राख्दै खाद्यान्नको पसलमा पनि यही मापन गर्नुपर्ने बताएकी थिइन् । संघका अध्यक्ष गिरीधारी सापकोटाले उपमहानगरपालिकाले उपलब्ध गराएको नामावली अनुसार पुनः छलफल गरिने बताए ।

कार्यसमिति सदस्य विष्णु बरालका अनुसार बैठकमा उपमहागनरपालिकाका बजार अनुगमन अधिकृत वेद सापकोटा, वाणिज्य सचिव सिताराम आचार्य, प्रचार प्रसार सचिव मानबहादुर विश्वकर्मा, सदस्य नारायण लिम्बू लगायतले बिचारहरु राखेका थिए । संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको बैठकमा धरानका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपाने र संघका पदाधिकारीहरु सहभागी थिए ।

हेल्प डेस्क स्थापना

सुनसरी संघले उद्योगी, व्यावसायीहरुलाई सहयोग गर्नको लागि हेल्प डेस्क स्थापना गरेको छ । लकडाउनले आफ्ना घरमा सिमित भएका साधारण सदस्यहरुलाई स्वास्थ्य र खाद्यान्न आपूर्ति गरेर सेवा पुर्याउन हेल्प डेस्क स्थापना गरिएको संघका प्रथम उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘साधारण सदस्यहरुलाई घरमा कुनै विरामी पर्यो, अस्पताल जानुपर्ने भयो । एम्बुलेन्स, डाक्टर, औषधी चाहियो भने हेल्प डेस्कले मद्दत गर्छ,’उनले भने,‘खाद्यान्न के चाहियो, दाल चामल तेल, आवश्यकता के हो त्यो सेवा दिन्छौं ।’