धरान: तरकारी अनुगमन समितिको निर्देशन अवज्ञा गर्ने खर्बुजा बोकेको गाडीलाई एक हजार जरिवाना गरिएको छ ।

आज बिहान भएको अनुगमन समितिको बैठकले मे १ च ४७३३ नम्बरको गाडीलाई एक हजार जरिवाना तिराइएको हो । उनले कृषि बजारमा खर्बुजा इन्ट्री गर्नुपर्नेमा सिधै आफ्नो घरको गोदाममा झारेको पाइए पछि गाडी नियन्त्रणमा लिइएको थियो । यस्तै, तोकिएको प्रक्रिया एवं मापदण्ड नपुगेर नियन्त्रणमा लिइएको थप ४ वटा तरकारीका गाडीलाई पनि पहिलो पटक भएकोले आवश्यक प्रक्रिया पुर्याई सचेत गराएर छोड्ने निर्णय गरेको अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।

अनुगमन समितिका अनुसार खर्बुजाको गाडीलाई तिनकुने चेकपोष्टमा अनुगमन समितिले कृषि बजारमा नै इन्ट्री गर्न निर्देशन दिएको थियो । ती व्यापारीले सहमति जनाए पनि कृषि बजारमा इन्ट्री नगरी आफ्नो घरमा झर्दै गरेको अवस्थामा भेटिएको थियो । यस्तै, अन्य गाडीहरुले सम्बन्धित ठाउँको विल नभएको र समुह, सहकारी वा गाउँपालिकाको सिफारिश पत्र पनि नल्याएको पाइएको थियो । ती गाडीहरुलाई विल र सिफारिश ल्याएपछि एक पटकलाई सचेत गराएर छोड्ने निर्णय भएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

अनुगमन समितिले हिजो राती ८ बजेदेखि २ बजेसम्म तिनकुने चेकपोष्टमा भएको थियो । प्रहरी, ट्राफिक प्रहरीको सहयोगमा राती अनुगमन गरिएको थियो । ‘के कति गाडी संख्या आयो भनेर हेरियो, प्रक्रिया पुर्याएकोलाई कृषि बजार आउन दिने र नपुगेको, निर्देशन पालना नगर्नेलाई रोकेर राखियो,’उनले भने । अनुगमन समितिका पदाधिकारी, कृषि बजारका अध्यक्ष, नगर प्रहरी, प्रहरी खटिएको थियो ।