धरान: लकडाउनको समयमा तोकिएको भन्दा बढी मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गरेको आरोपमा तीन जना व्यापारीलाई धरानमा कारबाही गरिएको छ ।

धरानको वडा १ का व्यापारी सुरज कुमार चौधरी र सहयोगी उपेन्द्र मुखिया, छत्तीस साहले तोकिएको भन्दा दोब्बर मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइए पछि कालोबजारी गरेको ठहर गर्दै आज कारबाही गरिएको हो । उनीहरुले वडा कार्यालयबाट अनुमति पनि लिएका छैनन् । अनुगमन समितिका अनुसार आज खर्बुजाको खुद्रा बिक्री मुल्य ३५ रुपैया छ । तर, उनीहरुले ६० रुपैया प्रतिकिलो मुल्य लिएर बिक्री गरिरहेका थिए । उनीहरुले कालोबजारी गरेको ठहर गर्दै आज बिहान कृषि बजारमा बसेको अनुगमन समितिको बैठकले कारबाही गरेको सहसंयोजक एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

krisi-meeting1

अनुगमन समितिले चौधरीलाई ५ हजार १ सय रुपैया जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै, उनीहरुलाई खर्बुजा बिक्री गर्ने गाडी चालकलाई सुवास लिम्बुलाई पनि २ हजार ५ सय रुपैया जरिवाना गर्ने निर्णय समितिले गरेको छ । चालक लिम्बुले आफ्नो साहु साहुलाई जितेन्द्र चौधरीलाई पनि थाहै नदिई हिजो राती नै खर्बुजा चौधरीलाई बिक्री गरेको पाइए पछि उनलाई जरिवाना तिराइएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘साहुले बिहान लैजानु भनेको रहेछ, तर उनलाई पनि थाहै नदिई हिजो राती नै बिक्री गरेछन्,’उनले भने । चौधरीको पसलबाट नगर प्रहरीले १० बोरा खर्बुजा नियन्त्रणमा लिएको छ । उनले जरिवाना तिरेपछि मात्र ती खर्बुजा फिर्ता पाउनेछन् भने कृषि बजारले तोकेको मुल्यमा मात्र बेच्न पाउनेछन् ।

धरान १३ स्थित कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार खर्बुजाको थोक मुल्य २५ रहेको छ । त्यसैको आधारमा २० प्रतिशतसम्म नाफा लिन पाउने कानुनी प्रावधान अनुसार खुद्रा मुल्य ३५ तोकिएको हो । तर, व्यापारीहरुले ६० रुपैयासम्म बिक्री गरिरहेका छन् ।