धरान: कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिला श्रीमानसँगै करिब ३ महिना अघि भारतको दिल्ली गएर आएको खुलेको छ ।
ट्राभल हिष्ट्री पत्ता लगाउने क्रममा दम्पत्ति नै ३ महिना अघि दिल्लीबाट धरान आइपुगेको पत्ता लागेको हो । संक्रमित महिलाका श्रीमानलाई क्यान्सर भएकोले उपचार गराउन दिल्ली गएका थिए । उनीहरु दिल्लीबाट फर्किएको ३ महिना पुगेको खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । मोवाइल सम्पर्कमा डिएसपी न्यौपानेले भने,‘ट्राभल हिष्ट्री कतै छ कि भनेर बुझ्दा दिल्लीबाट फर्किएको ३ महिना भएको रहेछ । तीन दिन अघि ठ्याक्कै ३ महिना पुगेको देखिन्छ ।’
श्रीमानलाई उपचारको लागि काठमाण्डौं लैजानुपर्ने भएकोले हिजो दुवैजना कोभिड १९ परीक्षण गराउन वीपी प्रतिष्ठान पुगेका थिए । काठमाण्डौं प्रवेश गर्न कोभिड १९ नभएको रिपोर्ट देखाएर मात्र पाइन्छ । हिजो स्वाब दिएर दुवै घर फर्केका थिए । आज श्रीमानको रिपोर्ट नेगेटिभ आयो भने श्रीमतिको पोजेटिभ आएको छ ।
चोकमा सब्जी लिन जान्थिन् संक्रमित महिला
धरानको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार संक्रमित महिला चोकमा सब्जी लिन जाने गरेको खुलेको छ । यस्तै, घरमा भाडामा बस्ने महिला र बच्चासँग पनि क्लोज कन्ट्याक्ट रहेको खुलेको छ । यसैगरि, आमाजु दिदीको घरमा पनि गएको पाइएको छ । ‘यसबाहेक अन्यत्र सम्पर्क नभएको देखिएन, उहाँहरुलाई पनि परीक्षणको दायरामा ल्याउनुपर्ने देखिन्छ,’उनले भने । संक्रमित महिलाको एक छोरी छिन् । उनको पनि परीक्षण गर्नुपर्ने अध्यक्ष काफ्लेले बताए ।