धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ ।
संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको भन्दा सानो आकारमा बजेट सार्वजनिक गरेका हुन् । उनले संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । कोरोना महामारीको प्रभावले गर्दा सरकारले आगामी बर्षको बजेटको आकार घटाएको हो ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएको अर्थमन्त्री डा.खतिवडाले जानकारी दिए । यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री खतिवडाले बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ हुने बताए ।
यस्तै, वैदेशिक अनुदानबाट ६० अर्ब जुटाउने अर्थमन्त्री खतिवडाले जानकारी दिए भने वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाउने सरकारको लक्ष्य छ । यस्तै, आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने डा.खतिवडाले जानकारी दिए ।