धरान: वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कर्मचारीहरुले तलव वृद्धिको माग र आन्तरिक बढुवाको बिषयमा ध्यानाकर्षण गराएका छन् ।

कर्मचारीहरुको तर्फबाट गठन भएको समन्वय समितिले उपकुलपति डा.गिरीलाई बधाई ज्ञापन कार्यक्रम गर्दै आफ्ना पुर्ववत मागहरुबारे ध्यानाकर्षण गराएका हुन् । उपकुलपतिसँगले छलफलमा नेपाल सरकारले आर्थिक बर्ष २०७६/०७७ मा वृद्धि गरेको १८ प्रतिशत देखि २० प्रतिशत तलब वृद्धिको मागलाई प्रतिष्ठानमा पनि लागु गर्ने प्रतिबद्धता जाहेर गरेको समन्वय समितकिा संयोजक महेश्वर राईले जानकारी दिए ।

उनका अनुसार समन्वय समितिले आन्तरिक बढुवा र फायल बढुवाबारे पनि उपकुलपतिको ध्यानाकर्षण गराइएको थियो । 'बषौंदेखि ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई प्रक्रिया पुर्‍याएर करार सेवामा नियुक्त गर्न अनुरोध पनि गरियो,'उनले भने,'कर्मचारीहरुको साझा संगठन कर्मचारी कल्याण समाजको निर्वाचन गराउने तर्फ पहल गर्न अनुरोध गरेका छौं ।'

उक्त भेटघाटमा कर्मचारीहरुको पेसागत हकहित, प्रतिष्ठानको विकास तथा कोरोना (कोभिड(१९) सम्बन्धमा पनि छलफल भएको राईले जानकारी दिए । प्रतिष्ठानको विकास सम्बन्धमा उपकुलपति डा.गिरीले कोभिड १९ को संक्रमितलाई उपचारको लागि सय बेडको अस्पताल तयारी गरिएको र थप ३ सय सैय्या विस्तार गर्ने प्रक्रिया अगाडि बढी सकेको समेत जानकारी गराएको संयोजक राईले बताए ।

यसैगरि, निर्माण कार्य स्थगित रहेको ४०० सैय्याको एमसिएच भवनको पुनः निर्माणकार्य जेठ २५ गते देखि सुरु हुने जानकारी पनि उपकुलपति डा.गिरीले दिएको संयोजक राईले बताए । 'उहाँले २ सय वेडको अंकोलोजी र २०० वेडको हर्ट सेन्टरको भवन निर्माणको प्रक्रिया समेत तत्काल सुरु गर्ने जानकारी दिनुभयो,'संयोजक राईले भने । छलफलमा कोरोना भाईरस संक्रमितको उपचारको क्रममा फ्रन्टलाइन्मा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई नेपाल सरकारले निर्णय गरे बमोजिमको भत्ता लगायतका सुविधा उपलब्ध गराउने पनि उपकुलपतिको भनाई रहेको संयोजक राईले जानकारी दिए ।