धरान: धरानका मेयर तिलक राईले होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुलाई स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खाजा होम डेलिभरी गर्न उपमहानगरपालिकाले सहजीकरण गर्ने बताएका छन् ।
होटल एशोसिएशन अफ धरानका पदाधिकारीहरुसँगको छलफलमा मेयर राईले खाजा होम डेलिभरी गर्ने बिषयमा प्रहरी प्रशासनसँग पनि समन्वय गर्ने बताए । उनले भने,‘प्रहरी प्रशासनसँग आवश्यक समन्वय गछौं, तपाईहरुले स्वास्थ्य र सुरक्षाको मापदण्ड अनुसार गर्नुस् ।’ लकडाउनले व्यवसाय ठप्प हुँदा धेरै समस्या भइरहेको भन्दै होटल व्यवसायीहरुको टोली होम डेलिभरी गर्न भएपनि पाउनुपर्ने माग लिएर उपमहानगरपालिका पुगेको थियो । एशोसिएशनका अध्यक्ष सरोज भट्टराईले माग पत्र मेयर राईलाई बुझाएका थिए ।
मेयर राईले लकडाउनको बिषयमा एक समितिले अध्ययन गरिरहेको पनि बताए । आवश्यकताको आधारमा समन्वय गर्दै अघि बढ्ने भन्दै उनले होटल तथा रेष्टुरेष्टहरुले किचन र डेलिभरी गर्दा प्रोटोकलमा ध्यान पनि आग्रह गरे । ‘कसैबाट गुनासो नआओस्, गुनासो नआएपछि राम्रो सेवा भइरहेको हो भन्ने बुझ्छौं । प्रहरी प्रशासनसँग समन्वय गरौला,’उनले भने ।
छलफलमा उपमेयर मञ्जु भण्डारी सुवेदीले होम डेलिभरी गर्ने खाजाको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् । साथै, खाजा तयार गर्दा होटल तथा रेष्टुरेष्टहरुले पनि संक्रमणबाट जोगिने सबै उपाय अपनाउनुपर्ने उपमेयर भण्डारीले बताइन् । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले रेष्टुरेष्ट व्यवसायीहरु पीडित भएको बताए । होटल खोल्दा पनि ग्राहकहरु नआउने अवस्था भएको र कर्मचारीहरुलाई घरमा लगेर पालिरहनुपर्ने भएको बताए । उनले भने,‘जोखिमको न्युनीकरण पालना गर्दै घरमा र अफिसमा खाजा पुर्याउन खुला गर्दा राहत पुग्थ्यो ।’
एशोसिएशनका पुर्वअध्यक्ष सुवर्ण श्रेष्ठले सुरक्षा अपनाएर नै होम डेलिभरी भइरहेकोले खुला गर्नुपर्ने बताए । भोकलाग्यो डटकममार्फत नै होमडेलिभरी सेवा दिइने उनले बताए । भोकलाग्यो डटकमका नरेन कुलुङ र डिमाण्डुका हरि श्रेष्ठले पुर्णरुपमा सुरक्षा अपनाएर नै होम डेलिभरी सेवा दिइने बताए ।