धरान: सुनसरीका ४ वटा उद्योग वाणिज्य संघहरुले लकडाउनको कारण उद्योगी, व्यवसायीहरु आर्थिकरुपमा जर्जर अवस्थामा पुगेको भन्दै राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

आज सुनसरी उद्योग वाणिज्य सघं, उद्योग वाणिज्य संघ इटहरी, इनरुवा उद्योग वाणिज्य संघ र झुम्का उद्योग वाणिज्य संघका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै राहत प्याकेजको माग गरेका हुन् । उनीहरुले लकडाउन समाप्त भएको ३० दिनसम्म कर तिर्ने तथा बैंकको किस्ता तिर्ने समय सिमा तोक्न पनि सरकारसँग माग गरेका छन् । ‘बैंक किस्ता तिर्ने र कर तिर्ने समय लकडाउन खुकुलो भएको ३० दिनसम्म समय सिमा तोक्नुपर्छ भन्ने हाम्रो माग हो,’सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले भने,‘उद्योगी, व्यवसायीहरुको अवस्था नाजुक भइसक्यो । बैंकहरुले नाफा मात्र कमाउने होइन, सरकारले अनुदान पनि उपलब्ध गराउने प्याकेज ल्याउनुपर्छ ।’

संघहरुले लकडाउनलाई खुकुलो बनाउदै जोन छुट्याएर व्यापार, व्यवसाय सुचारु गर्न समय तोक्नुपर्ने पनि माग गरेको छ । सुरक्षाको उपायहरु अवलम्बन गरेर सामाजिक दुरी कायम गर्दै व्यवसायीहरुलाई दैनिक बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म व्यवसायिक गतिविधिहरु सञ्चालन गर्न दिइनुपर्ने माग संघहरुको छ । लकडाउनको अवस्थामा उद्योग तथा व्यवसाय कर सम्बन्धि विल भौचर र आवश्यक विवरणहरु तयार गर्न कर्मचारीहरुसमेत आवतजावत गर्ने सहज वातावरण नभएको भन्दै संघहरुले असार ७ गतेभित्र सबै कर तथा भ्याटका विवरणहरु बुझाउन दिइएको समय न्ययसंगत नभएको पनि विज्ञप्तीमा उल्लेख छ ।

Press-Release--1 Press-Release---2-(1)