विराटनगर: कोभिड-१९ महामारीको कारणले विदेशमा लाखौं नेपाली युवाहरुले रोजगारी गुमाएका छन् । ती नेपाली युवाहरु स्वदेश फर्किए कसरी व्यवस्थापन गर्ने ? विज्ञहरुले ठोस योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिइरहेका छन् ।
यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेश फर्किए पछि के गर्न चाहन्छन् ? ती युवारुको चाहना बुझ्न अनलाइनबाट लगत एवं तथ्यांक संलकन शुरु गरेको छ । वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरिकहरुको तथ्यांक संकलन गर्ने गरी प्रदेश सरकारले अनलाइन फारम भर्ने व्यवस्था गरेको हो । उक्त तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले आज शुभारम्भ गरेका छन् ।
गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्यांक https://helpline.p1.gov.np/ वा http://ppc.p1.gov.np/ मा गएर भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ । यो फारमले आफ्ना नागरिकहरुको सीपलाई प्रयोग गर्ने साथै उनीहरुको चाहना, आवश्यकता बुझेर दक्षता बढाउदै स्वदेशमै आत्मनिर्भर बनाउन मद्दत पुग्ने मुख्यमन्त्री राईले बताए । ‘विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सीपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं,’ मुख्यमन्त्री राईले भने ।
तथ्यांक संकलन हुने फारममा युवाहरुको रुची पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उनको भनाई छ । विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यममा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए । ‘विदेशबाट फर्किएका युवाहरु के गर्न चाहन्छन् ? फेरि विदेशै जान्छन् कि यही उद्यमशिल हुन चाहन्छन् ? त्यसको लागि सरकारले के कुरामा सपोर्ट गर्नुपर्छ ? भन्ने कुरा यो फारमबाट प्रष्ट हुन्छ,’मुख्यमन्त्री राईले भने ।
यो तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई आत्मनिर्भर एवं उद्यमशील बनाउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए । तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाई छ । यो अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ ।
कोभिड-१९ को कारण प्रदेश १ मा मात्र करिब डेढ लाख युवाहरु फर्किने अनुमान गरिएको छ । ती युवाहरुको रुचि अनुसारको सहयोग गर्नको लागि एक विज्ञ समिति गठन गरिनेछ । उक्त विज्ञ टोलीले अनलाइन फारम भरेका युवाहरुलाई प्राविधिक वा ऋण अनुदान सहयोग दिलाएर दक्ष बनाउदै आत्मनिर्भर एवं उद्यमशिल बनाउने लक्ष्य लिएको छ ।