इटहरीः भात–भान्सा र चुलो चौकामै अलमलिइरहने इटहरी २ र ३ का महिला अहिले आफ्नो खेतमा के लगाउने भन्ने छलफल गर्छन् । घरको काम सकेर फुर्सद रहेको समय त्यतिकै खेर जाने हुँदा उनीहरूले सामूहिक खेतीमा रमाउने मेसो मिलाएका हुन् ।

इटहरी उपमहानगरपालिकाबाट उद्यमी बन्ने मेलो सिकेका उनीहरूले ताल तलैया कृषि उद्यम महिला समूहको गठन गरेका छन् । घरभित्र सीमित हुने महिलाहरू अहिले समूहमा भेला हुन थालेपछि आत्मबल बढेको छ भने घरबाहिरको संसार बुझ्ने मौका मिलेको छ । पहिले घरको काम धन्दा सकेर दिनभरि फुर्सदिली बन्ने समूहकी अध्यक्ष रमा लिम्बु अहिले खेतमा लगाएको धान र मकैको व्यवस्थापनमा जुट्छिन् भने सबै सदस्यहरूको काम गर्ने तालिका तय गर्न व्यस्त हुन्छिन् ।

‘हामीले भर्खरै जग्गा लिजमा लिएका हौँ । लिजमा लिएपछि सुरुमा तोरी, फापर लगाएका थियौँ, त्यो पुरै अग्र्यानिक थियो ।’ उनले भनिन्  ‘अहिले हामीले मकै लगाएका छौँ । मकै पछि धान खेती लगाउने सोच राखेका छौँ । हामीले नगरपालिकामा बोरिङको पनि माग गरेका छौँ । बोरिङ गाडिसकेपछि नगदे वालि पनि लगाउने सोचेका छौँ ।’

krishi-women-clickdharan (5)

समूहका आबद्ध भइसके पछि सामूहिक खेती मात्र होइन, कसरी उद्यमी बन्ने भन्ने तालिम समेत लिइसकेका छन् । खेतवारीमा उत्पादन भएको वस्तुलाई सहज व्यवस्थान गर्न र बजारको मागको आधारमा कृषि फसल लगाउन उनिहरु सीपालु भइसके । त्यो भन्दा बढि फाइदा सामाजिक घुलमिलले गर्दा भएको छ । मनको कुरा खुलेर राख्न नसक्ने र आफ्नो नामसमेत भन्न नसक्ने महिला अहिले धक फुुकाएर बोल्न सक्छन् । ‘समूहका रहेकाहरूको पहिलेको आत्मबल र पछिको आत्मबलमा धेरै परिवर्तन आउँदै गयो ।’

समूहकी सदस्य रेनुका राई भन्छिन् ‘अहिल ढुक्कसँग आफ्ना कुरा राख्नसक्नुहुन्छ । यसरी हेर्दा सबै दिदीबहिनीलाई समेट्दै जाने हो भने चुलो चौकामा मात्र सीमित होइन कि समाजमा आफूले केही गर्न सक्ने रहेछु भन्ने आत्मबल पनि बढ्दै जाने रहेछ । समूहमा रहँदा एकआपसका समस्याको समाधान पनि निस्किछन् । सदस्यको आर्थिक समस्या देखि सामाजिक र पारिवारीक समस्यालाई समूहमार्फत हल गर्ने प्रयास गरिन्छ ।

krishi-women-clickdharan (4)

समूहका सदस्यहरूले नियमित बचत समेत गर्दै आएका छन् । अग्र्यानिक उत्पादनलाई प्राथमिकतामा राखेको सो समूहले इटहरी बजारमा कृषि उत्पादन बेच्ने गरेका छन् । समूहका छलफल गरी साझा धारणा बनाउने उनीहरूको प्रयासले दुुइ वडाबिचको सम्बन्ध थप बलियो बनेको छ भने सो समूह आर्थिक गर्जो टार्ने उत्तम विकल्प बनेको अर्की सदस्य सीता ढुुँगाना बताउँछिन् ।  ‘ऋणमा कृषिकै लागि भए पनि त्यो पैसा सस्तो ब्याजमा चलाउन पाएका छौँ ।’ उनले बताइन् ।

krishi-women-clickdharan (1)

घरभित्रको काम सकेर बाँकि रहेको समय खेर जाने हुँदा धेरैलाई हिनताबोधले सताउँथ्यो । बेरोजगार भएको महसुस गर्ने महिला अहिले कुन समयमा कुन वालि लगाउने र कति मुनाफा गर्न सकिन्छ भनेर छलफल चलाउँछन् । ‘हामी बेरोजगार जस्तै बसिरहेका थियौँ । समूह आइसकेपछि चाहिँ हामीले केही गर्नुपर्ने रहेछ, उद्यमी बन्नुपर्ने रहेछ भन्ने लाग्यो । ’ समूहकै सदस्य वालकुमारी लुुइँटेलले भनिन् ‘अब उत्पादन गरेका सामान ठाउँ –ठाउँ लगेर बेच्न सकिने रहेछ भन्ने अनुभव भएको छ ।’

उपमेयर आत्मनिर्भर कार्यक्रममार्फत इटहरी क्षेत्रका करिब ३ सय महिला अहिले उद्यमी बन्ने प्रयासमा रहेको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मि गौतमले जानकारी दिइन् । उनकाअनुसार गाउँ र सहर केन्द्रित कार्यक्रमको एउटै उद्देश्य उत्पादनमा जोड दिने रहेको हुँदा ठाउँअनुसार कार्यक्रमको मोडल तय गरिएको छ । ‘दूध, तरकारी र माछा–मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएको इटहरीले किसानलाई पशु र आधुनिक कृषि औजार वितरण गर्दै आएको छ ।’ उनले भनिन् ‘किसानमैत्री कार्यक्रमहरु पनि बढ्दे जान्छन्, किसानको माध्यमबाट नगरलाई उत्पादनमा आत्मनिर्भर बनाउने बाटोमा लागेका छौँ ।’

krishi-women-clickdharan (3)
इटहरी ४, ५, ६, ९, १२ र २० बाहेक प्राय सबै वडामा किसानको बाहुल्य रहेको छ । ३९ सय घरधुरी रहेको इटहरीमा करिब ५५ प्रतिशत जनसंख्या कृषि पेशासँग जोडिएको छ । आगामी बजेटमा ती किसानको जीवनस्तर उकास्ने गरी वडामार्फत नयाँ कार्यक्रम ल्याउन आग्रह गरिएको छ । अघिल्लो साल पशु र कृषि विकासमा १–१ करोड बजेट विनियोजन गरेको नगरले भने यो पटकको बजेटमा कृषि विकासमा २ करोड र पशु विकासमा करिब १  करोडको सिलिङ तोकेको छ ।