धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सातौं नगरसभामा प्रस्तुत गरेको छ ।

वीपी प्रतिष्ठानको अडोटरियम हलमा उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख रहेको छ । कोरोना महामारीको कारण आन्तरिक आयमा भारी संकुचन देखिएकोले आगामी बर्षदेखि लागु हुने गरी जनप्रतिनिधिहरुको पोसाक भत्ता कटौती गरिएको छ भने नगरपालिकाबाट गठन गरिएका विभिन्न समितिहरुको पदाधिकारीहरुले लिदै आएको पारिश्रमिक पनि कटौती गरिएको छ । यस्तै, आगामी आर्थिक बर्षदेखि लागु हुने गरी नगरपालिकाका कर्मचारीहरुले पाउदै आएको खाजा भत्तामा मासिक २ हजारका दरले कटौती पनि गरिएको छ ।

आयतर्फ

आगामी बर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ भने संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ भने संघीय राजश्व बाँडफाडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४ र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८० हजार आय अनुमान गरिएको छ ।

यसैगरि, संघीय समपुरक अनुदानबाट ३ करोड ३३ लाख, संघीय बिशेष अनुदानबाट १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, खानेपानी व्यवस्थापन बोर्डबाट १ करोड अनुमान गरिएको छ भने सडक बोर्डबाट १ करोड २० लाख, जनसहभागिताबाट १ करोड ५० लाख आय अनुमान गरिएको छ ।

व्ययतर्फ

यस्तै, व्ययतर्फ भने प्रशासनिक खर्चमा ३१ कराड ८१ लाख ६८ हजार ५ सय विनियोजन गरिएको छ भने वडागत प्रशासनिक खर्चमा २ करोड र कार्यक्रम तथा पूँजीगत खर्च २० करोड गरि २२ करोड विनियोजन गरिएको छ । क्रमागत भुक्तानीलाई २२ करोड ५५ लाख, नगर गौरवको आयोजनातर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ भने बिषयगत कार्यक्रमहरु शिक्षा, पर्यटन, खेलकुद, सुचना, वन, वातावण लगायत अन्य पुँजीगत निर्माण सुधारतर्फ ९१ करोड ४८ लाख ७५ हजार विनियोजना गरिएको छ ।

IMG_1498.psd

आगामी बर्ष शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ क्रमागत योजनाहरुको भुक्तानी तथा नयाँ कर्याक्रम र नगर गौरवको योजनाहरुको लागि ३५ करोड ४५ लाख विनियोजना गरिएको छ भने शिक्षा युवा तथा खेलकुदतर्फ कुल ३७ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ५ करोड ३८ लाख, सामाजिक विकासतर्फ २ करोड २ लाख, आर्थिक विकासतर्फ कृषि, पशु, सहकारी र उद्योगको लागि १ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ३८ लाख विनयोजन गरिएको छ भने पर्यटनतर्फ १ करोड ५५ लाख, सुचना तथा संचारतर्फ ३० लाख, साहित्य कला र साँस्कृतितर्फ ३० लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनतर्फ ५० लाख, मजदुर कल्याण कार्यक्रमतर्फ ५ लाख बजेट विनियोजन गरिएको छ । 

यस्तै, न्याय सम्पादनतर्फ २५ लाख, सार्वजनिक जग्गा संरक्षणमा ५० लाख, विमानस्थल जग्गा व्यवस्थापनमा ८० लाख, राजश्व सुधार तथा संस्थागत क्षमता विकासमा ४० लाख बजेट छ भने नगर प्रोफाइल तथा जिएमअएस अपडेटतर्फ ५० लाख र अन्य कार्यक्रमहरुतर्फ २८ करोड १० लाख ७५ हजार बजेट विनियोजन गरिएको छ । मेयर कोषमा ८० लाख, मर्मततर्फ ५० लाख र आकस्मिक कोषमा ३० लाख बजेट विनियोजन गरिएको छ । यस्तै, विपद व्यवस्थापन कोषमा ८० लाख विनयोजन गरिएको छ भने कोभिड १९ लगायत महामारी नियन्त्रणको लागि ८० लाख विनियोजन गरिएको छ ।