धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि धरान उपमहानगरपालिकाको बजेटमा ५ वटा नगर गौरवको आयोजनाहरु समेटिएको छ ।
ती आयोजनाहरुको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि धरानको दीर्घकालिन महत्वका योजनाहरुलाई नगर गौरवको आयोजनाकोरुपमा शुरुवात गरिएको थियो । ती आयोजनाहरु पनि क्रमागत आयोजनाकोरुपमा आगामी आर्थिक बर्षमा सञ्चालनमा नै रहनेछन् । बुधबार सातौं नगरसभामा प्रस्ततु बजेटमा ५ वटा नगर गौरवको आयोजना भने नयाँ हुन् ।
ती नयाँ आयोजनाहरुमा तीनकुने सुन्दर बस्ती विकास आयोजनाको पुर्वाधार विकास रहेको छ । यो आयोजनाको लागि १ करोड ६० लाख बजेट विनियोजन गरिएको छ । उपमहानगरपालिकाले यहाँ स्मार्ट पार्किङ बनाउन डिपिआर पनि बनाइसकेको छ । यस्तै, अर्को नयाँ गौरवको आयोजनामा बगरकोट–देउराली–ठिंगाबारी पिच निर्माण रहेको छ । यसको लागि १ करोड १० लाख बजेट विनियोजन गरिएको छ भने अर्को गौरवको आयोजनामा सप्तरंगी–साकेला मार्गमा ५० लाख, सुकुम्बासी व्यवस्थापन–सर्दु/खहरे कोरिडोरको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै, रत्न रोड र सिंहदेवी मार्ग विस्तारमा पनि ५० लाख बजेट विनियोजन गरिएको छ ।
क्रमागत नगर गौरवका आयोजनाहरु
आगामी आर्थिक बर्षमा क्रमागत नगर गौरवका आयोजनाहरुको लागि पनि ठुलो बजेट विनियोजन गरिएको छ । उपमहानगरको प्रस्तावित विनियोजनमा क्रमागत आयोजनाहरुको लागि कुल २२ करोड ५५ लाख बजेट छ । ती आयोजनामा उपमहानगरपालिका कार्यालय भवन निर्माण थपसमेतलाई २ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, विजयपुर मन्दिर जोड्ने सडकलाई १ करोड ८० लाख, रेडक्रस–विजयपुर सडकलाई १ करोड ४० लाख, खहरे÷तीनढ्वांगे करिडोर ३ करोड, जल्पा रोड सडक १ करोड २० लाख, चतरालाईन सडक ११ लाई ३ करोड, नमुना बस्तीलाई १ करोड, रेल्वे चोक सौन्दर्यीकरणलाई १ करोड ५० लाख, सभागृह पुनःनिर्माणलाई ३ करोड विनियोजन गरिएको छ भने माछा भौडी पार्कलाई ७५ लाख, शहिद मार्गलाई ६५ लाख, आडा लाइन सडकलाई ६० लाख विनियोजना गरिएको छ । यस्तै, अन्य क्रमागत आयोजनाहरुको लागि २ करोड बजेट छ ।