धरान: धरान ११ स्थित विष्णु चोक नजिक बाँधडाँडामा एक घर आगलागी भएर नष्ट भएको छ ।

राती करिब १ बजेतिर आगलागी भएको हो । आगलागीले काठको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागी भएको घर ललित र सीता देवान दम्पत्तिको हो । उनीहरुले बालबालिकाहरुलाई आश्रय दिएर आफ्नै छोराछोरी झैं घरमा राखेका छन् । आगलागी भएको घर पुरानो काठको हो । मानिसहरु भने अर्को पक्की घरमा बस्ने र उक्त घरलाई भान्सा घरकोरुपमा प्रयोग गर्ने गरेका थिए ।

दमकललाई फोन गरे पनि समयमा नआउदा ठुलो क्षति भएको पीडित परिवारको भनाई छ । ‘फोन गर्दा पनि दमकल समयमा आइपुगेन, नत्र क्षति कम हुन्थ्यो,’पीडित ललित देवानले भने । उनकी छोरीले पनि दमकललाई पटक पटक फोन गर्दा पनि समयमा नै नआइपुगेको बताइन् । ‘१ बजेतिर पनि फोन गर्यौं, आगो लागिरहदा पनि गर्यौं, तर कोइला निभाउन मात्र आइपुग्यो,’उनले भनिन् । आगलागीले घरमा राखिएको भाडाकुडा, लत्ताकपडा, काठ र सुन पनि नष्ट भएको पीडित परिवारको भनाई छ ।

वडा नं ११ का अध्यक्ष बावुलाल लामाले आगलागीबाट करिब ८ लाख जति क्षति भएको अनुमान गरिएको बताए । ‘धन्न मानवीय क्षति हुन पाएन । ७,८ लाखको क्षति भएको अनुमान छ । काठको घर सबै जलेको छ । खाद्यान्न सबै नष्ट भएछ,’उनले भने,‘दमकल पनि ढिला आएछ । वडा कार्यालयबाट आज ३ क्विन्टल चालम दिएर पठाएका छौं ।’ईलाका प्रहरी कार्यालय धरानका अनुसार आगलागीबाट अन्दाजी ६ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । भिडियो स्रोत: धिरेन लिम्बु