धरान: तीन दिनदेखिको निरन्तरको बर्षाले धरानमा पनि क्षति पुर्याउन थालेको छ । सर्दु खोलामा आएको बाढीले धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ ।

आज राती सर्दुमा आएको बाढीले धरान १६ को नौलो बस्तीमा निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएको हो । वडा अध्यक्ष दिलकुमार गिरीका अनुसार ३ वटा वालको सेट भत्किसकेको छ भने एउटा पनि भत्काउन लागेको छ । ‘३ वटा वाल भत्किसकेको छ, एउटा भत्कनै लागेको छ,’उनले भने । उनका अनुसार पार्कको जग्गा जोगाउन ३ बर्ष अघि वाल निर्माण गरिएको थियो । वाल ९ फिट गहिरो खनेर उठाइएको भए पनि खोला बर्षेनी गहिरिदै गएपछि वाल लडेको अध्यक्ष गिरीले बताए ।

tara

अध्यक्ष गिरीका अनुसार अहिले पनि बाढी आइरहेको छ । तत्कालको लागि तारजालीले संरक्षण गर्ने योजना रहेको उनले बताए । गत बर्ष पनि उत्तरतर्फको वाल लगाएको थियो । वालको एउटा सेटको मुल्य १ लाख ४३ हजार बराबर भएको अध्यक्ष गिरीले बताए । ४ वटा वाल लड्दा ५ लाख बढी क्षति पुगेको छ ।

निराजन बस्तीमा पहिरो

nirajan-pahiro
धरान ३ र १५ को सिमानास्थित निराजन बस्ती जाने बाटोमा पहिरो गएको छ । पहिरोले विनोद मगरको टहरा पुरिएको छ भने छिन्छिङ भोटेको घर पहिरोको जोखिममा परेको छ । ‘पहिला पनि त्यहाँ पहिरो गएर वाल उठाएको थियो । अहिले पहिरोले त्यो पनि लडायो,’वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठले भने,‘छिन्छिङ भोटेको घर पनि पहिरोले जानै लागेको छ ।’

भिडियो स्रोत: उमा चाम्लिङ राई