विराटनगर: २ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन । एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका श्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन् । उनले सम्मान वापत प्राप्त गरेको राशी मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गरे ।

यस्तै, भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका छन् । ललितकलातर्फ अनुराधा थापा (मोरङ), साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’ (धनकुटा), कविराज पोखरेल (मोरङ), मुनाराज शेर्मा (झापा), पञ्चकुमारी परियार (खोटाङ), प्रेम ओझा (पाँचथर), शिवनारायण पण्डित‘सिंगल’ (सुनसरी), साहित्य र कलातर्फ डीवी किराँती (सोलु), रंगकलातर्फ कविता नेपाल (झापा), चलचित्रकर्मी तर्फ केशव रायमाझी (मोरङ), नृत्यकलातर्फ मायाँ पौडेल (मोरङ), गित/संगीत तर्फ वीरध्वज शिवा (मोरङ) सम्मानित भएका छन् ।

samman1 1

श्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, श्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए । उनीहरुलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान शुरु गरेको हो ।