विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन् ।

२ सय ७ औं भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले आयोजना गरेको श्रष्टा सम्मान तथा पुरस्कार सर्मपण समारोहमा मुख्यमन्त्री राईले यस्तो धारणा राखेका हुन् । साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश १ सरकारले एकेडेमी बनाउने तयारी शुरु गरेको पनि मुख्यमन्त्री राईले बताए । संघीयता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । साहित्य, कला, संस्कृतिको संरक्षण हुन नसके नेपालीपन हराएर जाने उनको भनाई थियो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली भाषा संकटमा रहेको बताए । नेपाली भाषा प्रयोग गर्नेको संख्या अहिले ३० प्रतिशत घटेको उनले बताए । अहिले नै भाषा, साहित्यको संरक्षण र विकास नगरे भावी सन्ततीमा नेपाली भाषाको प्रयोग अझै घट्ने मन्त्री घिमिरेले बताए । नेपाली भाषा माथी चुनौती रहेकोले यसको विकास र संरक्षण आवश्यक रहेकोमा मन्त्री घिमिरेले पनि जोडदिए ।

नेपाली भाषासँगै प्रदेश १ मा बोलिने १ सय ४ वटा भाषा पनि संकटमा रहेको उनले बताए । मातृभाषा, संस्कृति र संस्कार संकटमा पर्दै गएकाले यसको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री घिमिरेले बताए । कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्राज्ञ खेम नेपाली, साहित्यकार मुनाराम शेर्मा लगायतले आदिकवि भानुभक्त आचार्यको स्मरण गरेका थिए ।