इटहरीः इटहरी–४ का रमेश कुमार बरालको करिब ४ महिना अघि मोवाइल हरायो । गाडीमा विराटनगर गएका उनको कति बेला मोवाइल कहाँ खस्यो वा कसैले गोजीबाट झिकिदियो, उनले पत्तो पाउन सकेनन् । उनलाई धेरैले पुलिसले भेट्टाइदिन्छ जानु भने । झिनो आशा लिएर आफ्नो मोवाइल हराएको प्रमाणसहित प्रहरीमा उजुरी दिए । नभन्दै केहि समयपछि इलाका प्रहरी कार्यालयबाट बराललाई फोन आयो –‘तपाईको मोवाइल भेटिएको छ, लिन आउनु ।’

इटहरीकै सृजना सापकोटा मोरङको गोकर्ण रिसोर्ट परिवारसहित घुम्न गएकी थिइन् । रिसोर्ट जाँदा बाटामै हराएको मोवाइल भेटिएन । उनले पनि प्रहरीलाई निवेदन दिइन् । ५ महिना अघि हराएको मोवाइल पाएपछि उनले खुशी हुँदै भनिन्, ‘यस अघि प्रहरीले धेरै मोवाइल फिर्ता गरेको सुनेकी थिएँ । प्रहरीले खोजेर दिन्छ भन्नेमा ढुक्क थिएँ ।’

२०७६ बैशाखदेखि शाखा स्थापना गरि विभिन्न मितीमा हराएका/ चोरी भएका मोवाइलहरु खोजि कार्य शुरु गरेको हो । शाखा स्थापना भएदेखि हालसम्म इलाका प्रहरी कार्यालय इटहरीले २ सय ९२ थान मोवाइल भेट्टाइ सकेको छ भने त्यसको बजार मुल्य ७२ लाख १८ हजार ८ सय ६० रुपैया पर्ने कार्यालयका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

mobile itahari, srijana sapkota

प्रविधिको बढ्दो विकाससँगै महंगा सेट बोक्ने होडबाजी छ । मानिसको दैनिकी सहज बनाउने मोवाइलले अपराध समेत बढाइरहेको प्रहरीको दाबी छ । यसै कुरालाई मध्यनगर गरेर अलग्गै सेलको निर्माण गरि जनगुनासो सम्बोधन गर्नै र हराएका मोवाइलको खोजि कार्य तीव्र पार्ने काम इटहरीले गरेको छ ।

तर, जति मोवाइल हराएका छन् त्यति चोर भने पक्राउ पर्ने गरेका छैनन् । डिएसपी भण्डारीका अनुसार प्रायः चोरीका मोवाइल पसलमार्फत बिक्री हुन्छन् । तेस्रो या चौथो व्यक्तिको हातमा पुगेपछिमात्र मोवाइल फेला पर्छ । मुख्य चोरको स्रोतसम्ममा पुुग्न नसक्दा मोवाइल भेटिन्छन्, चोर भेटिदैनन् ।
‘प्रायः मोवाइल चोरीको केशमा हामीले अध्ययन गर्दा करिब–करिब एउटै प्रकृतीको अवस्था देखिन्छ,’ भण्डारी भन्छन्– ‘पसलमा आउने स्रोतबाट झुटो विवरण टिपाएर मोवाइल बेचिन्छ, अनि सेकेण्ड ह्याण्ड रेटमा ग्राहकलाई बेचिन्छ । अन्त्यमा किन्ने नोक्सानमा जान्छ ।’

mobile itahari

अधिकारी मोवाइलको बिल र पुरा डकुमेन्ट नहुन्जेल यस्ता सामाग्री नकिन्न उनको सुझाव छ । प्रहरीले पसलवालालाई यस्ता सामाग्री नकिन्न आग्रह समेत नगरेको होइन । पसलेले यस्ता सामाग्री नकिनिदिए चोरको सँजालमार्फत भारतका सीमावर्ती जोगवनी जस्ता बजारमा लगेर बेचिन्छ, जुन फेला पर्ने सम्भावना शुन्य हुन्छ । ‘नेपाली बजारमा रहेछ भने त हामीले खोजेर दिउँला, तर भारत पुगिसकेको मोवाइल हाम्रो कभरेज एरियामा हुन्न । त्यो भेटिदै भेटिदैन,’ भण्डारी भन्छन् ।

प्रहरी अनुसन्धानअनुसार अहिले चोरीको टे«न्ड बदलिएको छ । पहिले प्रायः साना मनि व्याग र पर्स चोरी हुने कुरा अहिले मोवाइलमा रुपान्तरण भएको छ । जुन बेला चाहियो त्यहि बेला विक्री हुन्छ । तुरन्त पैसा आउने वस्तु भएको हुँदा चोरको टार्गेट मोवाइल भएको हुनसक्ने डिएसपी भण्डारीको तर्क छ । उनका अनुसार आफुले सहि बीलबिजकी गरेर पसलबाट सामान किन्ने र त्यसो आइएमी कोड सुरक्षित रुपमा राखे हराउँदा सोहि कोडको आधारमा मोवाइल भेटिनेसम्भावना प्रवल हुन्छ । तसर्थ, मोवाइल किनिसकेपछि यस्ता महत्वपुर्ण सामाग्री सुरक्षित राख्नु प्रयोगकर्ताको बुद्धिमानी हुनजान्छ ।