धरान: विभिन्न महत्वपुर्ण योजनाहरुको बारेमा धरानका मेयर, उपमेयरसहितको टोली काठमाण्डौंमा छन् । उनीहरुले विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीलाई भेट गरिरहेका छन् ।

मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहितको टोली दुई दिन अघि काठमाण्डौं गएका हुन् । मेयर र उपमेयर दुवै काठमाण्डौं गएपछि अहिले धरानमा कार्यवाहक मेयर वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठ छन् । काठमाण्डौं गएको टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहयक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको छ । उनीहरुले हिजो उर्जा मन्त्री बर्षमान पुन र भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङलाई भेट गरेका थिए ।

धरान उपमहानगरको टोलीसँग सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राई पनि मन्त्रालयहरुमा गएका थिए । धरानबाट वडा नं १७ का अध्यक्ष मनोज भट्टराई, खानेपानी व्यवस्थापन बोर्डका सदस्यहरु पनि मेयर, उपमेयरसँगै गएका छन् । प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार हिजो उर्जा मन्त्रालयमा कोशी कोरिडोर हाइन्टेन्सन लाइनले सर्दु जलाधार क्षेत्रमा पारेको असरबारे छलफल भएको थियो भने भौतिक पुर्वाधार मन्त्रालयमा कोशी राजमार्ग र मदन भण्डारी राजमार्गको मापदण्डबारे सकरात्मक छलफल भएको थियो । ‘कोशी राजमार्गबारे मन्त्री ज्युले बजारमा ६ लेन पुग्दैन, जनता उठाएर पनि हुदैन, ४ लेनले पुग्छ भन्ने धारणा राख्नुभयो,’खनालले भने,‘आज पनि थप मन्त्रालयहरुमा जार्दैछौं ।’

आज धरानको टोली सँस्कृति, पर्यटन तथा नागरिक उड्याउन मन्त्रालय र खानेपानी मन्त्रालयमा जाने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईसँग एयरपोर्टको बिषयमा छलफल हुनेछ भने खानेपानी मन्त्रालयमा धरानको खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको बिषयमा पनि टोलीले छलफल गर्नेछ । खानेपानीको बिषय धरानमा पेचिलो मुद्दा बनेको छ । सातौं नगरसभाले संस्थान र खानेपानी परियोजना बोर्डले जिम्मा लिएर पानी व्यवस्थापन गर्ने निर्णय गरेपनि संस्थानको शाखा समायोजन नहुँदासम्म सम्भव छैन । संस्थानलाई बोर्डमा गाँभ्न हुदैन भनेर धरानमा आन्दोलन भइरहेको छ ।