धरान: इटहरी उपमहानगरपालिकाका एक ईञ्जिनियर पनि कोरोना संक्रमित भए पछि धरान उपमहानगरका पनि कर्मचारीहरुको आज स्वाब संकलन गरिएको छ ।

धरान १७ स्थित एन्फा क्वारेन्टाइनस्थलमा उपमहानगरका कर्मचारीहरुसहित धरान १३ का संक्रमित युवाको कन्ट्याक ट्रेसिङ भएका, क्वारेन्टाइनमा बसेका र नेपानी सेनासहित ५४ जनाको स्वाब संकलन गरिएको हो । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार जोखिम रहेर काम गरेको कारण कर्मचारीहरुको पनि परीक्षण गर्न स्वाब संकलन गरिएको हो । ती कर्मचारीहरुमा धेरै प्राविधिक, इञ्जिनियरहरु नै छन् । ‘जोखिम सबैतिर नै छ, रिस्क लिएर काम गरेको कारण परीक्षण गर्न लागिएको हो,’मेहताले भने ।

एन्फा क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मी डुका घिसिङका अनुसार ९ महिला र ४५ पुरुषसहित ५४ जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये ३६ जना उपमहानगरपालिकाका कर्मचारीहरु रहेका छन् । यस्तै, १२ जना धरान १३ का संक्रमितको नजिक सम्पर्कमा आएकाहरु छन् भने ३ जना एन्फा क्वारेन्टाइनमा रहेका, एक जना होम क्वारेन्टाइनमा भएका र २ जना नेपाल आर्मीको पनि स्वाब संकलन गरिएको छ ।

वडा १४ का सबैको रिपोर्ट नेगेटिभ

धरानको वडा नं १४ गणेश चोकका ६६ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरमा कार्यरत वडा १४ का एक प्रहरीमा संक्रमण पुष्टि भएको थियो । रिपोर्ट पोजेटिभ आउनु अघि उनी घर आएको खुलेपछि स्थानीय ६६ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको मेहताले जानकारी दिए ।