धरान: उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले एक साँझ फेसबुकमा यस्तो स्टाटस् लेखिन्, जसले आफु मात्र होइन, नगरपालिकामै बबण्डर मच्चायो ।

उनले त्यो स्टाटस्प्रति विज्ञप्ती जारी गरेर आत्मालोचना त गरिन्, तर त्यसले निम्त्याएको संकट अझै हटेको छैन । उनकै स्टाटस् पछि नेपाली कांग्रेसलगायत विपक्षी दलहरु नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै आन्दोलनमा छ । आज बिहान नगर प्रमुख दुर्गा थापाले भ्रष्टाचार नभएको दाबी गर्दै आन्दोलनरत पक्षलाई अख्तियारलगायत निकायमा जान आग्रह गरेका थिए । लगत्तै, कांग्रेसलगायत अन्य दलहरुको रामपुरस्थित नगरपालिका अघि विरोध कार्यक्रम थियो ।

belaka-(3)

आजको आन्दोलनमा राजनीतिक दलसँगै नागरिक समाजहरुको पनि भ्रष्टाचार विरोधी सभामा सहभागिता थियो । उक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप भएको छ । प्रहरीले लाठीचार्ज गरेर आन्दोलनकारीलाई तितरवितर पारेपनि अहिले उनीहरु एकत्रित भएर नगरपालिका गेटअघि विरोध कार्यक्रम भइरहेको आन्दोलनका नेतृत्वकर्ता एवं कांग्रेसका बेलका छाँया सरकार प्रमुख अशोक कार्कीले बताए । उनले भने,‘हामी संयमित भएर विरोध सभा गर्न आएका थियौं । मेयरले आफ्ना मान्छे भेला पारेर भिडन्त गर्न खोजे, हामी धेरै संख्यामा भएकोले ठुलो दुर्घटना भएन तर प्रहरीले लाठी चार्ज गरेकोले साथीहरु केही घाइते भएका छन् ।’

belaka-lathi1

कार्कीले नगरपालिकाकी मेयर चौधरी आफैले भ्रष्टाचार भएको भनेको कारण सत्यतथ्य छानबिन होस् भन्ने आफुहरुले माग गरेको बताए । उपमेयर चौधरीलाई पार्टीले चौतर्फी दबाब दिएर आफ्नो भनाईबाट पछि हट्न बाध्य पारेको पनि उनको दाबी छ । ‘सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ भन्ने हाम्रो माग हो,’उनले भने । उपमेयर चौधरीले फेसबुकमा पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, र जनतासँग माफी माग्नु भनेर लेखेकी थिइन् । उनले स्टाटसमा थप लेखेकी थिइन्,‘काला कर्तुतहरुको बिषयमा कार्यान्वयन हुदैन, धिक्कर छ दुई तिहाईको सरकार ।’

भिडियो :