धरान: बुधबार राती धरानमा १२ जनाको पिसिआर रिपोर्ट पाजेटिभ भएको रिपोर्ट आयो । ती मध्ये ५ जना धरान ३ का एकै घरपरिवारका सदस्य थिए ।

उनीहरुमा ७ बर्षका बालकदेखि ८५ बर्षका वृद्धसम्म छन् अर्थात हजुर बुबादेखि नातीसम्म संक्रमित छन् । उनीहरु कसरी संक्रमित हुन पुगे ? संक्रमणको स्रोत पहिचानको क्रममा धरानमा संक्रमण फैलाएको भनिएको धरान औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ एण्ड फिटिङ्स उद्योग नै भएको खुलेको छ । धरान ३ को परिवारको एक सदस्य(बुहारी) यसअघि धरान ८ मा संक्रमण पुष्टि भएको प्रिति भल्भमा काम गर्ने कर्मचारीको परिवारसँग सम्पर्कमा आएको खुलेको वडा नं ३ का वडा सदस्य विकास वनेपालीले जानकारी दिए ।

वनेपालीका अनुसार धरान ३ मा संक्रमण पुष्टि भएको परिवारका बुहारी र धरान ८, सिद्धकाली चोकको परिवारबीच पारिवारिक सम्बन्ध छ । त्यसैले बुहारी उक्त परिवार(धरान ८)लाई भेट्न गएकोबेला कोरोना सरेको भन्ने निष्कर्षमा पुगेको वनेपालीले बताए । ‘धरान ८ मा संक्रमण भएको परिवार यो घरको बुहारीको आफन्त रहेछ, त्यहाँ भेट्न गएको बेला उसलाई सरेको र परिवारमा नै संक्रमण भएको हो,’उनले भने ।

धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले पनि यसअघि कोरोना संक्रमण पुष्टि भएको धरान ८ को परिवारलाई भेट्न गएका एक महिला सदस्यबाट धरान ३ को परिवारमा संक्रमण फैलिएको निष्कर्षमा पुगेको बताए । ‘उहाँहरु नजिकको सम्बन्ध रहेछ, त्यसैले धरान ८ को परिवारलाई भेट्न जादा संक्रमण सरेको हो । त्यो परिवार प्रिति भल्भको कामदारको हो, र त्यहाँको पनि सबै जना पोजेटिभ भएर वीपीमा उपचारमा लगिएको छ,’मेहताले भने ।

उद्योगको असावधानीले फैलियो कोरोना

प्रिति भल्भको कर्मचारी जनकपुर, विराटनगरलगायत क्षेत्रमा पनि उद्योगको कामले जाने गरेको र उनीहरुबाट नै संक्रमण धरानमा फैलिएको पाइएको छ । तिनै कर्मचारीबाट धरान १३, धरान १, धरान १५ र धरान ३ का परिवार तथा व्यक्तिहरुमा संक्रमण फैलिएको हो । तर, उद्योगका सञ्चालक अशोक अग्रवालले सरकारले तोकेको सुरक्षा मापदण्ड लागु नगरी उद्योग चलाउदा संक्रमण समुदायस्तरमा फैलिएको हो ।

उनको उद्योगका कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुदासमेत उनले उद्योग बन्द गरेनन् । प्रहरी प्रशासनले पनि तत्काल उद्योग सिल गर्न चासो देखाएन । सञ्चालक अग्रवालको धरानको राजनीतिक नेतृत्व, प्रशासनसँग राम्रो सम्बन्ध भएकोले उनलाई तत्काल उद्योग बन्द गराउन वा सिल गर्न दबाब दिन सकेनन् । पछि धरान ८ र १ मा उनकै कामदारमा थप संक्रमण भएपछि मात्र उद्योग सिल गरियो, तर त्यो बेलासम्म निक्कै ढिलाई भइसकेको थियो । धरानले लकडाउन गर्न पनि ढिलाई गर्यो । इनरुवा, इटहरी, दुहबीले लकडाउन गरेपछि मात्र धरानले लकडाउन गर्ने निर्णय गर्यो ।