धरान: धरान ९ मा डेरा गरि बस्ने एक सब्जी व्यापारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

करिब २ साता अघि भारतको विहार गएर आएका अन्दाजी २७ बर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएसँगै स्थानीय तथा वडाका जनप्रतिनिधिहरु चिन्तित छन् । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्ने गर्छन् । स्वाब संकलन गर्नुअघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको वडा नं २ का सदस्य धर्मराज तामाङले जानकारी दिए । ‘भारत गएर आएको रहेछ । सब्जी पनि बेच्न गएको रहेछ, उसको धेरै जनासँग सम्पर्क भएको देखिएकोले चिन्तित बनायो,’उनले भने,‘तत्काल उसको परिवार, नजिक रहेर सब्जी बेच्ने अरु व्यापारीहरुको पिसिआर गर्ने गरि व्यवस्थापन गर्दैछौं ।’

ती व्यापारीलाई भेटेका धेरै मानिसहरु आत्तिएर स्वाब टेष्ट गरिदिन भन्दै सम्पर्कमा आउन थालेको पनि वडा सदस्य तामाङले जानकारी दिए । अहिले सबैको नामावली संकलन भइरहेको र स्वास्थ्य महाशाखासँग समन्वय गरेर स्वाब संकलन गरिने पनि उनले बताए । यसअघि, हिजो राती नै एकै परिवारका ५ जनासहित १२ जनाको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ सब्जी व्यापारीको कन्ट्याक धेरै जना ग्राहकसँग भएको देखिएकोले ट्रेसिङ गरिने उनले बताए । ‘सब्जी लिन आउनेहरुसँग कन्ट्याक छ, म सब्जी व्यापारी हुँ भनेकोले धेरैको कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भयो,’उनले भने ।