विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणको कारण ज्यान गुुमाउनेको संख्या पाँच पुुगेको छ ।

आज विराटनगरको कोशी अस्पतालमा थप एकजनाको कोरोनाकै कारण ज्यान गएको मेडिकल सुपरिटेण्डेन (मेसु) चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतक आजै विहान मात्र अस्पताल भर्ना भएका थिए । उनी निमोनियाबाट ग्रस्त थिए । कोरोनाको जस्तो लक्षण देखिएपछि उनको तत्काल स्वाव संकलन गरेर प्रदेश जनस्वास्थ्यको प्रयोगशालामा पठाइएको थियो ।

रिपोर्ट आउनुुपूर्व नै उनको ज्यान गएको थियो, र मृत्युपश्चात मात्र कोरोना भएको यकिन भएको हो । विराटनगर ९ का ५८ वर्षीय ती पुरुषको अस्पताल पुुर्याइएको केही बेरमै मृत्युु भएको थियो । यसअघि विराटनगरका ३, रंगेलीका एक र सुनबर्षीका १ व्यक्तिको ज्यान गइसकेको छ । मृतक सबै पुरुष हुन् ।