धरान: लकडाउनको उल्लंघन गर्दै व्यापारीले धनकुटाको चौबिस क्षेत्रबाट ल्याएको आलु धरान उपमहानगरपालिकाको टोलीले नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ ३ वटा साना ढुवानी गाडीमा ल्याएर कृषि बजारको नयाँ गोदाम घरमा अनलोड गर्दै गरेको अवस्थामा अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । धरान १३ स्थित कृषि बजारसमेत लकडाउनको कारण पुर्णरुपमा बन्द छ । कोरोना संक्रमण बढ्दै गएपछि उपमहानगरपालिकाले पनि साउन २२ गतदेखि लकडाउन घोषणा गर्दै तरकारी, दुध र खाद्यान्न पसल, आयात निर्यात एवं कारोबारसमेत गर्न नदिने निर्णय गरेको छ । तर, यही समयमा केही व्यापारीहरुले भने लुकीचोरी तरकारी आयात गरेर महंगोमा बिक्री गर्दै कालोबजारी गरिरहेका छन् ।

सोमबार साँझ धनकुटाबाट धरानका व्यापारी मदन कार्कीले आलु आयात गरेका थिए । उनी धरान ३ स्थित पालिका बजारका होलसेल तथा खुद्रा तरकारी व्यापारी हुन् । उनले आफुले झण्डै पहिल्यै मगाएको आलु चौबिसेको ६ नम्बर बुधबारेबाट आज(सोमबार) मात्र पठाइदिएकोले समस्या भएको दाबी गरे । ‘यता लकडाउन छ भन्ने थाह भएन क्यारे, आज आलु पठाइदिएछ । मैले त लकडाउन हुनुभन्दा अगाडी नै छिटो पठाउ भनेको थिएँ,’उनले भने,‘राजारानी कटेपछि मात्र आलु पठाइदिएको छुँ भन्यो । फर्काउन पनि सकिन ।’ उनका अनुसार झण्डै १३ क्विन्टल आलु आएको छ ।

krisi-ko-aluko

यता, उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले भने पुर्णलकडाउन थाह भएर पनि व्यापारीहरुले तरकारी मगाएर ठाउँ ठाउँमा महंगोमा बिक्री गरिरहेको बताउँछन् । यसले संक्रमण फैलने जोखिम भएकोले पनि थप कडाई गर्नुपरेको उनले बताए । ‘एउटाले ल्याउदा अरुले पनि ल्याउने भन्न थाले, यसले त भोली भयावह स्थिति हुन्छ,’उनले भने,‘यो बिषयमा भोली मंगलबार बैठक बसेर थप निर्णय हुन्छ ।’

कृषि बजार सञ्चालक समितिका अध्यक्ष पर्शुराम कटवालले मुख्य कृषि बजार बन्द गरिएको तर अन्यत्रबाट आइपुगेको किसानको तरकारी नबिग्रियोस् भनेर पुर्वतर्फको ओपन सेडमा राख्न भने दिइएको बताए । ‘यहाँ राख्नलाई मात्र दिइएको हो, किनबेच गर्न दिइएको छैन । बन्द नै छ,’उनले भने । नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले लकडाउन उल्लंघन गर्दै पसल खोल्ने, बिक्री गर्ने थुप्रैलाई आज(सोमबार) पनि कारबाही गरिएको बताए । उनले अनुगमनलाई तीब्रता दिदै लकडाउनलाई पुर्णरुपमा लागु गराउन निरन्तर खटिएको दाबी गरे ।