धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ बाहिरको एक मेडिकलले औषधीको बिलमा बढाएर ठगी गरेको बिषयमा छानबिन समिति गठन गरिएको छ ।

औषधी व्यवसायी संघ ईकाई समिति धरानले आज ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । ठगी भएको घटनाको बिषयमा छानबिनको निवेदन परेपछि ईकाई समितिको बैठक बसेर समिति गठन गरिएको अध्यक्ष मचेन लिम्बुले जानकारी दिए । ‘छानबिनको लागि निवेदन परेपछि बैठक बस्यौं, घटनाको सत्यतथ्य छानबिन गर्न ५ सदस्यीय समिति गठन भएको छ,’अध्यक्ष लिम्बुले भने,‘कमिटिले बिल अनुसार औषधी डाक्टरले मगाएको हो कि होइन, कति मगाएको हो, सबै छानबिन गर्छ ।’

छानबिनबाट ठगी भएको पुष्टि भएमा आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभागमा पठाउने उनले बताए । पुष्टि नभए आरोपको खण्डन हुनुपर्ने पनि उनको भनाई छ । ‘गलत गरेको छ भने कारबाही हुन्छ, हुनुपर्छ । उसको बिल हेर्छ, डाक्टरसँग भएको रेकर्ड हेर्छ । मगाएको हो कि होइन भन्ने प्रष्ट भइहाल्छ,’उनले भने,‘गलत गरेको छ भने बचाउ गर्दैनौं, कारबाही नै हुन्छ । गलत भएको छैन भने आरोपको खण्डन हुनुपर्छ ।’

medi

धरान १८ को मिथिला मेडिकल हलले वीपीमा नर्मल डेलिभरी गराउदाको औषधीको बिल अस्वभाविकरुपमा २१ हजार बढी बनाएको बिषयमा क्लिक धरानमा समाचार प्रकाशन भएको थियो । साथै, औषधी व्यवसायीहरुबीच भएको छलफलमा पीडित भनिएका व्यक्तिलाई तिर्न बाँकी रहेको ११ हजार रुपैया छुट दिएर घटना मिलाइएको थियो ।

सोही घटनामा औषधी व्यवसायी संघ जिल्ला सचिव पंकज झाले मिडियालाई खबर गरेको भन्दै मिथिलाका सञ्चालकले संघको धरान इकाई समितिमा छानबिनको लागि निवेदन दिएका थिए । साथै, सचिव झाले ठगी गर्ने मेडिकलहरुसँग केही सुरक्षा गार्डहरुको पनि मिलेमतो छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउदै सुरक्षा गार्डहरुको संगठन र भिआइपी सेक्युरिटी प्रालिले पनि छानबिनको लागि निवेदन दिएको छ । सुरक्षा गार्डहरुको निवेदनबारे भने आइतबार झासहित छलफल गरिने बताए ।