धरान: जिल्ला प्रशासन कार्यालयले हिजो सुनसरी जिल्ला भरि बिहान १० बजेसम्म मात्र पसलहरु खोल्न दिने निर्णय गरेको थियो । आज धरानको सुरक्षा समिति बैठकले भने बिहान १० बजेपछि पनि बजार खोल्ने समय खुकुलो बनाउन सुझाव दिने निर्णय गरेको छ ।
बैठकमा सहभागी सुनसरी उद्योग वाणिज्य संघ प्रतिनिधिहरुले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बजार पुरै खोल्नुपर्ने माग गरेका थिए । तर, बैठकले बजार खोल्ने समय केही खुकुलो बनाउन कार्यपालिकालाई सुझाव दिने निर्णय गरेको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘जिल्ला प्रशासनले जारी गरेको मापदण्डलाई अनिवार्य कार्यान्वयन गराउने निर्णय भएको थियो,’उनले भने,‘पसल बिहान १० बजेसम्म मात्र खोल्ने भन्ने छ, यो बैठकले केही खुकुलो बनाउन कार्यपालिकालाई सुझाव दिने निर्णय गरेको छ ।’
सुरक्षा बैठक धरानकी उपप्रमुख एवं अनुगमन समिति संयोजक मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा भएको थियो । बैठकमा इलाका प्रशासन कार्यालयका प्रमुख, व्यवसायीहरुका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका डिएसपी, सशस्त्रका डिएसपी, जिल्ला ट्राफिक प्रमुखलगायत सहभागी थिए ।
बजार पुरै खोल्नुपर्छ भन्ने माग हो: उद्योग वाणिज्य संघका अध्यक्ष
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार जिल्लाका सबै वाणिज्य संघको माग भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै बजार पुरै खोल्नुपर्छ भन्ने माग रहेको छ । आजको बैठकमा पनि धरानको बजार पुरै खोल्नुपर्छ भन्ने माग राखिएको उनले बताए । ‘हामीले बजार पुरै खोल्न माग गरेको हो । अब यसरी व्यवसायी बाँच्न सक्दैनन्, पसल बन्द गरेर मात्र कोरोना भाग्ने पनि होइन,’उनले भने,‘समय यति नै बढाउने भनेर तोकिएको चै छैन, तर १० बजेलाई अझै खुकुलो बनाउन भनेर कार्यपालिकामा सिफारिश गर्ने निर्णय चै भएको छ ।’
'लकडाउन विकल्प होइन '
संघका अध्यक्ष सापकोटाले लकडाउन मात्र समस्या समाधानको विकल्प नभएको बताए । उनले स्वास्थ्य मापदण्ड पुरा गरेर बजार, पसल खोल्न दिइनुपर्ने बताए । उपमहानगरपालिका, वडा कार्यालय र टि.एल.ओ.हरुलाई मापदण्ड पुरा भए नभएको अनुगमन गर्नुपर्ने अध्यक्ष सापकोटाले बताए ।
‘सेनिटाइजर राख्ने, दुरी कायम गर्ने, साबुन पानी राख्ने, मास्क नलगाई ग्राहकलाई आउन नदिने, व्यवसायीले पनि मास्क लगाएर बस्नुपर्नेलगायत पालना गनपर्छ । पालना भए नभएको नगरपालिका, वडा कार्यालय र टिएलओहरुले अनुगमन गर्नुपर्छ,’अध्यक्ष सापकोटाले भने,‘किसानले खेती गरिरहेकै छ, कर्मचारी र जनप्रतिनिधिले सेवा सुविधा पाइरहेकै छ । पुर्णरुपमा व्यवसाय गर्नेले कसरी बाँच्ने ? के गर्ने ? परिवारलाई खुवाउन नसक्दा आत्महत्या गर्नुपर्ने अवस्था भयो ।’
अध्यक्ष सापकोटाले लकडाउन मात्र समाधान नभएकोले ३ तहकै सरकारले विकल्प ल्याउन पनि माग गरे । ‘साहुको पनि ऋण छ । बैैकको किस्ता तिर्नुछ । पसलमा सामान कुहिदैछ, कतिको सामान डेट एक्स्पायर भइसक्यो,’उनले भने,‘अब ३ तहकै सरकारले विकल्प खोज्नुपर्छ ।’