धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले विभिन्न १७ बुँदे मागहरु एक साताभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको छ ।

सोसाइटीले शुक्रबार प्रतिष्ठानका उपकुलपतिलाई माग पत्र बुझाउदै यथासीघ्र सम्बोधन गर्न आग्रह गरेको हो । एक साताभित्र सम्बोधन नगरे कडा कदम चाल्न बाध्य हुने पनि सोसाइटीले चेतावनी दिएको छ । स्रोतबाट प्राप्त माग पत्रमा प्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीहरुलाई विभिन्न १७ वटा बुँदामा प्रश्नै प्रश्न सोधिएका छन् । फ्याकल्टीहरुको बढुवा प्रक्रिया अघि बढ्न नसक्नुको कारण र त्यसबाट परेको क्षतिको प्रभावबारे प्रश्न गरिएको छ भने कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म जोखिम भत्ता वितरणमा ढिलाई भएकोबारेमा पनि प्रश्न गरिएको छ ।

bp-welfare1

यसैगरि, जनता विभिन्न रोगबाट प्रताडित भइरहदा व्यवस्थित र वैज्ञानिकरुपमा ओपिडी, अप्रेसन थिएटर सञ्चालनलगायत नियमित सेवा कहिले सुचारु हुने ? स्वास्थ्यकर्मीलाई पुर्णसुरक्षाको प्रत्याभुति हुन्छ कि हुदैन ? भन्ने प्रश्न पनि गरिएको छ । सोसाइटीले गत बर्ष वृद्धि भएको बक्यौता रकम किस्ताबन्दी निकासा गर्ने कुराको तयारीबारे पनि प्रश्न गरिएको छ । कोभिड अस्पतालको खरिद एवं निर्माणको विवरण सार्वजनिक गर्न पनि सोसाइटीले माग गरेको छ ।

यस्तै, प्रतिष्ठानको फोहोर व्यवस्थापनको लागि बिग्रिएको इन्सिनेटर कहिलेसम्म चलाउने ? भन्ने पनि प्रश्न गरिएको छ । ‘कोभिड अस्पतालमा नेगेटिभ प्रेसर आइसियु, ल्याब, रेडियोलोजी सेवा र अप्रेसन कक्षसहित स्वास्थ्यकर्मी एवं विरामीलाई यथेष्ट सुरक्षाको प्रत्याभूति हुने गरि कहिले सञ्चालनमा आउछ ?,’माग पत्रमा भनिएको छ,‘विपीको फार्मेसी सञ्चालन गर्न कति समय लाग्छ ?’

bp-welfare