धरान: संविधान दिवसको अवसरमा शनिबार धरानमा बृहत रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीको आयोजनामा धरानको भानुचोकमा रक्तदान कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा हातेमालो फाउण्डेसन, सेवक अभियानसँगको सहकार्यमा आयोजित रक्तदानमा १०४ पिण्ट रगत संकलन भएको एकेडेमीका नगर अध्यक्ष प्रशान्त पाठकले जानकारी दिए । रक्तदानमा राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए । धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी सुवेदीले सबैभन्दा शुरुमा रक्तदान गरेर कार्यक्रम शुरुवात गरिएको थियो ।

blood

कार्यक्रममा हातेमालो फाउण्डेशनको सहयोगमा निःशुल्क स्वास्थ्य परामर्श सेवा समेत दिइएको थियो । साथै, सामाजिक संस्था सेवक अभियानले शरीरमा तागत बढाउने आयुर्वेदिक औषधी तथा गुर्जोसहितको चिया पनि निःशुल्क वितरण गरिएको मदन भण्डारी फाउण्डेसनका जिल्ला सदस्य एवं युवा नेता रवि खनालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश १ संयोजक देबराज घिमिरेले कोरोना महामारीले देशभर रगत अभाव भएको अवस्थामा युवाहरु संगठित भएको संस्थाले रक्तदान जस्तो महत्वपूर्ण परोपकारी र सामाजिक कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा गरे । ‘देशमा अहिले रगत अभाव छ । रेडक्रस सोसाइटीले पनि देशमा रगत अभाव छ भनिरहेको छ । त्यस्तै सरकारले पनि रगत दान गर्नेलाई प्रोत्साहित गदै आएको छ । रक्तदान जस्तो महत्वपूर्ण रचनात्मक कार्यक्रम गरिएको छ,’उनले भने,‘एकेडेमीले यो रचनात्मक कार्यक्रमको आयोजना गरेको छ ।’

कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य मुरारी सुवेदी, मुक्साहाङ मेन्याङ्बो, अइन्द्रबिक्रम बेघा, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एकेडेमीले साँझ भानुचोकमा संविधान दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम पनि राखेको छ ।

blood6 blood2 blood4